विप्रेषण अर्थतन्त्र
धनुषाको लक्ष्मीनियाँमा खोलिएको यो सहकारीले विप्रेषणलाई उद्यमसँग जोड्नुका साथै बेरोजगारीको चक्रलाई पनि तोड्दै छ।
जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ सोहनी टोलका उमेश सहनी पहिलो पटक कतार जाँदा गाउँकै साहुसँग करिब चार लाख रुपैयाँ ऋण लिएका थिए। ब्याज थियो ३६ प्रतिशत। मजदुरी गरेर महिनाको करिब ४० हजार रुपैयाँ कमाउने उनले चार वर्षमा मूलधन र ब्याज गरी सात लाख रुपैयाँ तिरे।
कतार र मलेसियासहित विभिन्न देशमा करिब १० वर्ष बिताएका सहनीलाई विदेशमै गम्भीर स्वास्थ्य समस्या देखियो। त्यसपछि परिवार आर्थिक संकटमा पर्ने डर बढ्यो। तर, उनकी श्रीमती सावित्रीदेवी सहनीले घरमै बसेर नयाँ बाटो खोजिन्। गाउँमा वैदेशिक रोजगारीमा गएका श्रमिक र तिनका परिवारलाई बचत, ऋण र उद्यममा जोड्ने सहकारी खुलेको थाहा पाएपछि उनी त्यसमा आबद्ध भइन्।
सावित्रीले सहकारीबाट ३० हजार रुपैयाँ ऋण लिएर किराना पसल र सिलाइ मेसिन राखिन्। अहिले त्यही व्यवसायको आम्दानीबाट घरखर्च, छोराछोरीको पढाइ र श्रीमान्को हेरचाह चलिरहेको छ। उनका दुई सन्तानमध्ये छोरी कक्षा ५ र छोरा ३ मा पढ्छन्। उनी दैनिक ६०० रुपैयाँ बचत र ऋण किस्ताबापत सहकारीमा जम्मा गर्ने गरेको बताउँछिन्।

सहकारीबाट ऋण लिएर किराना पसल सञ्चालन गरेकी सावित्रीदेवी सहनी।
“पहिले साहुको चर्को ब्याजबारे थाहा थिएन। तिरेपछि मात्र थाहा भयो,” सावित्री भन्छिन्, “अहिले सहकारीबाट ऋण लिन सहज भएको छ। व्यापार पनि बढाउने योजना छ।”
वैदेशिक रोजगारीमा निर्भर परिवारहरूका लागि लक्ष्मीनियाँमा खुलेको आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत, ऋण, सीप, वित्तीय शिक्षा, कृषि सामग्री र सुरक्षित आप्रवासनसम्बन्धी जानकारीलाई एउटै ठाउँमा जोड्ने प्रयास गरेको छ। यो प्रयास चर्को ब्याज, मिटर ब्याज, असुरक्षित वैदेशिक रोजगारी र फर्किएका श्रमिकको पुनःएकीकरणसँग जोडिएको समस्या समाधानका लागि स्थानीयहरूले गरेका हुन्।
प्रवासबाट फर्केर गाउँमै व्यवसाय
लक्ष्मीनियाँ-२ सोहनीकै उपेन्द्र साह करिब नौ वर्ष कतार र मलेसिया बसे। मलेसियामा उनले फ्याक्ट्रीमा काम गरे, कतारमा प्लम्बरको काम गरे। विदेशबाट पठाएको केही रकम उनकी श्रीमती सावित्री साहले सहकारीमा बचत गर्न थालिन्। उपेन्द्र फर्किएपछि सहकारीबाट एक लाख रुपैयाँ ऋण लिएर पुरानो मिल किने र गाउँमै गहुँ, चामल र मसला पिस्ने काम सुरु गरे।

सहकारीबाट ऋण लिएर मिल्स सञ्चालन गर्दै आएका उपेन्द्र साह।
पछि उनले पुरानो मिलमा नयाँ सामग्री थपे। अहिले मिलसँगै किराना र हार्डवेयर सामग्रीको पसल पनि चलाएका छन्। श्रीमती र छोराले पनि व्यापारमा साथ दिइरहेका छन्।
“परदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा पसिना बगाउँदा राम्रो,” साह भन्छन्, “कतारको चर्को घाममा काम गर्नुको साटो अहिले केही ऋण लिएर गाउँमै काम गर्दा राम्रो भएको छ।”
साहको भनाइमा सरकारले विदेशबाट फर्केर गाउँमै उद्यम गर्न चाहनेहरूलाई सहुलियत ऋण र अन्य सहयोगको व्यवस्था गरे धेरैलाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्न सक्छ।
सहकारीले प्रवासी श्रमिक, फर्किएका श्रमिक र उनीहरूका परिवारलाई मात्र सदस्य बनाउने गरेको छ। परिवारका सदस्यहरू बचत गर्छन्, आवश्यक पर्दा ऋण लिन्छन्, व्यापार वा खेतीमा लगानी गर्छन् र विदेश जाने प्रक्रियाबारे आवश्यक जानकारी पनि सहकारीबाटै पाउँछन्।
यस सहकारीका अध्यक्ष दुखरण यादव आफैँ वैदेशिक रोजगारीबाट फर्किएका हुन्। उनी करिब १० वर्ष युएईमा जुनियर इलेक्ट्रिसियनका रूपमा काम गरेर गाउँ फर्किएका थिए। नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षामा दुई पटक नाम निकाले पनि मौखिकमा सफल नभएपछि उनी विदेश गएका थिए। नि:शुल्क भनिएको रोजगारीका लागि विमानस्थल पुगेपछि एजेन्टले ६० हजार रुपैयाँ नदिए विदेश जान नदिने अडान लिएको तितो अनुभव उनीसँग छ।

सहकारी कार्यालयमा अध्यक्ष र कोषाध्यक्ष।
त्यही अनुभवले विदेशबाट फर्किएपछि गाउँमा केही गर्ने सोच आएको यादवको भनाइ छ। उनी भन्छन्, “म जसरी अरू नेपाली नठगियून् भनेर फर्किएपछि सचेतना र बचतको काम सुरु गरियो।”
२३ असोज २०७५ मा १०१ जनाको उपस्थितिमा ११ सदस्यीय समिति गठन गरेर सहकारीको स्थापना गरिएको थियो। सहकारीले वैदेशिक रोजगारीमा जानेहरूको सुरक्षित आप्रवासन, फर्किएका श्रमिकहरूको दिगो पुनः एकीकरण, आप्रवासी परिवारको संगठन निर्माण र विप्रेषणलाई उत्पादन क्षेत्रमा मोड्ने उद्देश्य राखेको छ।
हाल सहकारीमा ७३६ सेयर सदस्य छन्। तीमध्ये ६९ जना पुरुष रिटर्नी (वैदेशिक रोजगारीबाट फर्किएका) र ६६७ जना महिला प्रवासी परिवारका सदस्य छन्। सहकारीमा ८६ समूह छन्, एक समूहमा बढीमा नौ जनासम्म सदस्य छन्। कुल सेयर कित्ता १४ हजार ३२० र सेयर रकम १४ लाख ३२ हजार रुपैयाँ रहेको छ। सहकारीको बचत ८१ लाख ३९ हजार ८०० रुपैयाँ र ऋण परिचालन ६६ लाख ६८ हजार ६२७ रुपैयाँ पुगेको उल्लेख छ।
बचत, ऋण र सीपबाट स्वरोजगार
सहकारीको लेखापरीक्षण २०८१/८२ अनुसार, सहकारीले मलखाद र विषादी बिक्रीमा २८ लाख ५२ हजार रुपैयाँ, कृषि बीउबिजनमा दुई लाख ८४ हजार ५४० रुपैया र पशुदानामा तीन लाख ३६ हजार रुपैयाँ वार्षिक कारोबार गरेको छ। त्यस्तै, किराना सामग्रीमा दुई लाख २४ हजार रुपैयाँ, रेमिट सेवामा एक करोड ६२ लाख रुपैयाँ र इसेवा तथा मोबाइल बैंकिङ सेवामा एक लाख १५ हजार रुपैयाँको वार्षिक कारोबार सहकारीबाट भएको छ।
लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार सहकारीले २५० जनालाई वित्तीय शिक्षा तथा व्यवसायी ज्ञानसम्बन्धी तालिम दिइएको छ। १५६ जनाले सीप तालिम पाएका छन्। २५ जनालाई ऋण प्रदान गरिएको छ। वैदेशिक रोजगारीबाट फर्केकामध्ये २५ जनाले स्वरोजगार सुरु गरेको सहकारीको दाबी छ।
तीमध्ये सात जनाले किराना, चारले कपडा र दुईले फलफूल पसल चलाएका छन्। तीन जनाले पशु र चारले माछा पालन गरिरहेका छन्। त्यस्तै, तीन जनाले इरिक्सा चलाएका छन् भने दुई जनाले तरकारी उत्पादन गरिरहेका छन्।
रिटर्नीका परिवारले पनि व्यवसायमा हात हालेका छन्। ६ जनाले तरकारी व्यापार सुरु गरेका छन् भने चार जनाले खाजा-चिया पसल खोलेका छन्। तीन जनाले लहठी-चुरा पसल सुरु गरेका छन् भने २३ जनाले माछा व्यापार थालेका छन्। सहकारीबाट बचतकर्तालाई ६ प्रतिशत ब्याज दिइन्छ भने १२ प्रतिशत ब्याजमा ऋण प्रवाह गरिन्छ। सदस्यहरू वैदेशिक रोजगारीसँग जोडिएका परिवार भएकाले खराब ऋण नरहेको अध्यक्ष यादवको दाबी छ।
तराई मधेसमा वैदेशिक रोजगारीका लागि साहुमहाजनबाट चर्को ब्याजमा ऋण लिने चलन अझै छ। मिटर ब्याजको समस्याले धेरै परिवारलाई ऋणको बोझमा पारेको छ। यस्तो अवस्थामा सहकारीले वैदेशिक रोजगारीमा रहेका र फर्किएका परिवारलाई बचत, सहुलियत ऋण र उद्यममार्फत साहुमहाजनप्रतिको निर्भरता घटाउने प्रयास गरेको देखिन्छ।
सहकारीकी कोषाध्यक्ष रेखादेवी दासका श्रीमान् रामविनोद राम करिब १७ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। श्रीमान् विदेश गएपछि खेतीपाती, बालबच्चाको हेरचाह र घरको आर्थिक व्यवस्थापन उनको जिम्मेवारीमा आएको छ। दुई छोरीको विवाह भइसकेको छ भने अझै तीन सन्तानको पालनपोषण र पढाइको जिम्मेवारी उनीसँग छ।
रेखाले करिब दुई बिघा जग्गा भाडामा लिएर खेती गर्दै आएकी छन्। भैँसी र खसी पनि पालेकी छन्।
“पहिले सामान्य कामका लागि पनि गाउँकै साहुमहाजनको घरदैलो चहार्नुपर्थ्यो,” उनले भनिन्, “महँगो ब्याज तिर्नुपर्थ्यो। अहिले बचत पनि गरिरहेको छु, परेको बेला ऋण पनि लिन्छु। सहकारी भएपछि धेरै सहज भएको छ।”
रेखाका अनुसार सहकारीमार्फत सहुलियत दरमा ट्र्याक्टर, बीउबिजन, मलखाद र कीटनाशक औषधि पाउँदा प्रवासी परिवारलाई खेती गर्न सजिलो भएको छ। युवाहरू विदेश गएपछि खेती संकटमा परेको अवस्थामा यस्तो सहयोगले परिवारलाई काम चलाउन मद्दत गरेको उनको भनाइ छ।
सुरक्षित वैदेशिक रोजगारीमा जोड
तर, सहकारीको काम उद्यममा ऋण दिने मात्र होइन। यादवका अनुसार सुरक्षित वैदेशिक रोजगारीका लागि पहल सहकारीको प्राथमिकतामा छ। वैदेशिक रोजगारीमा जानेहरू ठगिने, बिनासीप विदेश पुग्ने, जोखिमयुक्त काममा पर्ने र आवश्यक कागजात घरमा नराख्दा समस्या परेपछि परिवारले सहयोग गर्न नसक्ने अवस्था देखिने गरेको उनले बताए।
“जाने देश, त्यहाँको नियम, कानुन, भाषा, संस्कृति र मौसमबारे पहिले जानकारी भए समस्या कम हुन्छ,” यादव भन्छन्, “श्रम स्वीकृति, भिसा, सम्झौतापत्र र बिमाका कागजातको एक प्रति घरमा राख्न पनि हामी सल्लाह दिन्छौँ।”
उनका अनुसार गाउँमा कोही विदेश जान लागेको जानकारी पाए सहकारीका सदस्यहरू उनीहरूसँग सम्पर्क गरी सुरक्षित वैदेशिक रोजगारीबारे बुझाउने गर्छन्। तीनचार महिनामा बैठक गरेर वैदेशिक रोजगारीमा आउने समस्या र सावधानीबारे छलफल पनि गर्ने गरिएको छ।
तराई मधेसमा वैदेशिक रोजगारीका लागि साहुमहाजनबाट चर्को ब्याजमा ऋण लिने चलन अझै छ। मिटर ब्याजको समस्याले धेरै परिवारलाई ऋणको बोझमा पारेको छ। यस्तो अवस्थामा सहकारीले वैदेशिक रोजगारीमा रहेका र फर्किएका परिवारलाई बचत, सहुलियत ऋण र उद्यममार्फत साहु महाजनमाथिको निर्भरता घटाउने प्रयास गरेको देखिन्छ।
सोही गाउँका स्थानीयवासी तथा कतारका पूर्वराजदूत सूर्यनाथ मिश्रले समाधान बाहिर खोज्नुभन्दा स्थानीय सामूहिक प्रयासमा खोज्दा सफलता प्राप्त हुने उदाहरण सहकारी बनेको बताउँछन्। “समाधान कतै बाहिर छैन, हाम्रै सामूहिक प्रयासमा छ,” मिश्र भन्छन्, “यसखालको काम अन्य ठाउँमा पनि प्रयास गरियो भने धेरैले लाभ लिन सक्छन्।”
लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र वैदेशिक रोजगारीमा जाने युवाका परिवारका लागि सहकारीले सुरक्षित आप्रवासन, स्वरोजगार, कृषि सामग्री र वित्तीय सहयोगमा सहजता ल्याएको बताए। उनका अनुसार यस्तो अभ्यास अन्य ठाउँमा विस्तार गर्न सके विदेशबाट फर्किएका श्रमिकलाई आत्मनिर्भर बनाउन मद्दत पुग्न सक्छ।
मिश्र भन्छन्, “प्रवासमा दु:ख गरी कमाएको पैसा घरखर्चमै सकिने, साहुको ऋण तिर्नमै खर्च हुने र फर्किएपछि फेरि बेरोजगारीको चक्र दोहोरिने अवस्थामा सहकारीले वैदेशिक रोजगारीको कमाइलाई गाउँकै उद्यमसँग जोड्न गरेको प्रयास सराहनीय छ।”