खेल
सीमित सुविधाबीच राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका कोसीका तीन कराते खेलाडीको एउटै आवाज– खेलमा राज्यले लगानी गरोस्।
विराटनगर। काठमाडौँमा २० देखि २२ जेठसम्म सम्पन्न १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कोसी प्रदेशले करातेबाट राम्रो प्रदर्शन गर्दै आत्मविश्वास फर्कायो।
कोसीले महिला करातेमा पदक मात्र जितेन, तीन तौल समूहमा स्वर्ण जित्दै ‘क्लिन स्विप’ गर्यो। ४५ केजीमा हिरा आले मगर, ५० केजीमा प्रनिशा नेपाल र ५५ केजीमा सशिका आले मगरले स्वर्ण जित्दा दशरथ रंगशालाको म्याटमा कोसी प्रदेशको छुट्टै प्रभाव देखियो।
तीन किशोरीको सफलताले कोसीलाई अघिल्लो वर्षको निराशाबाट बाहिर ल्याउँदै पदक तालिकाको पाँचौँ स्थानमा पुर्याउन मद्दत गर्यो। उनीहरूको जितले प्रदेशमा करातेको नयाँ पुस्ता तयार भइरहेको सन्देश पनि दिएको छ।
हिराको सपना
सुनसरीको बराहक्षेत्र-७ की १५ वर्षीया हिरा आले मगर कक्षा ९ मा पढ्छिन्। उमेर र उचाइ हेर्दा उनी भर्खर खेलमा लागेकी हुन् जस्तो लाग्न सक्छ, तर उनले करातेको पोसाक पहिरिएको ६ वर्ष भइसकेको छ।
नौ वर्षको उमेरमा साथीहरू खेलकुद र बाल्यकालको रमाइलोमा रमाइरहेका बेला हिरा म्याटमा काता र कुमिते सिक्दै थिइन्। अहिले उनी ब्ल्याक बेल्ट फर्स्ट डान हुन्।

स्वर्ण पदक विजेता हिरा आले मगरलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की।
यसपटक ४५ केजी तौल समूहमा बागमती प्रदेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्दा उनले आफ्नो बाल्यकालदेखिको मिहिनेत सम्झिइन्। बुवा मोहन आले मगर र आमा गोमा आले मगरको सपनालाई साथमा लिएर हिँडेकी हिरा भविष्य पनि करातेमै देख्छिन्।
“हामीसँग जोस छ, तर गाउँमा खेल्न उचित कभर्ड हल छैन,” हिरा मुस्कुराउँदै भन्छिन्, “राज्यले सुविधा दिने हो भने हामी जस्ता धेरै हिरा गाउँमै चम्किन सक्छन्।”
हिराको सफलता उनको परिवारका लागि मात्र होइन, बराहक्षेत्रकै गौरव बनेको छ।
प्रनिशालाई तालिमको तिर्खा
झापाको दमक-३ बेलडाँगीकी १७ वर्षीया प्रनिशा नेपालको कराते यात्रा अझ लामो छ। उनी कक्षा १ मा पढ्दादेखि नै करातेमा लागेकी हुन्। झन्डै १२ वर्षको निरन्तर अभ्यासले उनलाई ५० केजी तौल समूहको स्वर्ण पदकसम्म पुर्याएको छ।

स्वर्ण पदक विजेता प्रनिशा नेपाललाई चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्की।
राजेश र मेनुका नेपालकी कान्छी छोरी प्रनिशाको बुझाइमा खेल शक्ति प्रदर्शन मात्र होइन, मानसिक एकाग्रता पनि हो। म्याटमा बागमती प्रदेशकी खेलाडीलाई पराजित गरेको क्षण उनका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो। तर, उनी यतिमै रोकिन चाहन्नन्।
“हामीले स्वर्ण त जित्यौँ, तर यसमा हाम्रो व्यक्तिगत मिहिनेत बढी छ,” प्रनिशा भन्छिन्, “सरकारले राष्ट्रिय टोलीमा छनोट भएका खेलाडीलाई एकदुई महिनाको बन्द प्रशिक्षणमा राखेर खानपान र तालिमको व्यवस्था गरिदिने हो भने अन्तर्राष्ट्रिय खेलमा पदकका लागि कसैको मुख ताक्नु पर्दैन।”
कक्षा १२ मा पढ्दै गरेकी उनी पढाइ र खेललाई समानान्तर रूपमा अघि बढाइरहेकी छन्।
सशिकाको यात्रा
स्वर्ण जित्ने तेस्रो खेलाडी हुन्, सशिका आले मगर। उनको कथा अलि फरक छ। घर ओखलढुंगाको मानेभन्ज्याङ भए पनि उनी कराते सिक्न र पढ्न उदयपुरको कटारीमा बस्छिन्। १५ वर्षीया सशिका कटारीको मुनामदन इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा पढ्छिन्।
कक्षा ६ देखि कराते सुरु गरेकी सशिका अहिले ब्राउन बेल्ट हुन्। जिल्ला स्तरमा उनको तौल समूहमा प्रतिस्पर्धी नभेटिएपछि उनी सोझै प्रदेशमा छानिएकी थिइन्।
५५ केजी तौल समूहमा मधेस प्रदेशकी एली राईलाई पराजित गर्दै स्वर्ण जित्दा उनको मुहारमा बेग्लै चमक थियो।

स्वर्ण पदक विजेता सशिका आले मगरलाई चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्की।
“कटारीमा अझै खेल पूर्वाधारको अभाव छ,” सशिका भन्छिन्, “हामीलाई व्यावसायिक खेलाडी बन्न राज्यले आर्थिक सुविधा वा तलबको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो। भविष्यमा करातेमै करिअर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउने मेरो सपना छ।”
कोसीमा कराते
१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कोसी प्रदेशले कुल २८ पदक जित्यो। त्यसमा मार्सल आर्टस्को ठूलो योगदान रह्यो। करातेमा मात्रै नौ पदक जित्दै कोसी सातै प्रदेशमध्ये अगाडि देखियो।
हिरा, प्रनिशा र सशिकाको महिला करातेमा आएको स्वर्णले कोसीको प्रदर्शनलाई बल दियो।
कोसीले यसपटक चार स्वर्ण, सात रजत र १७ कांस्य पदक जितेको थियो। पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। स्वर्ण पदक विजेतालाई जनही एक लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।

पदक विजेता खेलाडीसँग सामूहिक फोटो खिचाउँदै मुख्यमन्त्री कार्की।
सम्मानले खेलाडीलाई हौसला दिएको छ, तर उनीहरूको माग त्यसभन्दा गम्भीर छ। उनीहरू पूर्वाधार, नियमित प्रशिक्षण, आवासीय क्याम्प, पोषण र खेललाई करिअर बनाउन सक्ने वातावरण चाहन्छन्।
“हामीले मिहिनेतका कारण कोसीमा स्वर्ण ल्यायौँ,” हिरा भन्छिन्, “सरकारले करातेमा थोरै लगानी गरिदिने हो भने हामी विश्व म्याटमा पुगेर देशकै लागि स्वर्ण ल्याउन सक्छौँ।”