तेहरान। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको घोषणा गरेको इरना समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
यसैबिच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामका लागि प्रतिबद्ध नभएको उल्लेख गर्दै दोषारोपणको खेलले अबका दिनमा काम नगर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले वार्ताको प्रक्रिया चलिरेको समयमा इरान माथि अमेरिकाले पुनः आक्रमण गरेको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति वार्ता वा युद्धविरामको सिद्धान्तप्रति कुनै प्रतिबद्धता नभएको बताएका छन्।
यसैबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति छ भने उनीहरूले फोन मार्फत पनि सल्लाह गर्न सक्ने बताएका छन्।
उनले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको विषयमा सम्मान गर्दै उनीहरूसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति रहेमा फोन मार्फत समाधान गर्नु पर्ने तर हिंसाको सामना हिंसाका साथ नै हुने बताएका छन्।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबिच त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका थिए। सामाजिक सञ्जाल एक्समा उनले इजरायल र लेबनानबिचको ऐतिहासिक त्रिपक्षीय फ्रेमवर्क सम्झौताको हिस्सा हुन पाउँदा अमेरिकाले गर्व गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेकाले शान्ति, समृद्धि र आपसी सहअस्तित्वको लागि अर्थपूर्ण कदम चालेका बताएका छन्।
आइआरजिसी र नियमित इरानी सेनाको समन्वय गर्ने अपरेसनल कमान्ड सेन्टर, इरानको खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले यस पटक अमेरिकी आक्रमणमा इरानको कडा प्रतिक्रिया हुने बताएका छन्।