काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

राजनीति

चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री एउटै मञ्चमा भेला हुँदा पनि भएन वाम एकताबारे सहमति

१४ असार २०८३
स्व मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम। तस्बिरहहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन आइतबार चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री काठमाडौँको राष्ट्रिय सभागृहमा भेला भए।

प्रदर्शनीमार्गस्थित सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि थिइन् – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी।

दुई कम्युनिस्ट दलका चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिँदा धेरै कार्यकर्ताले वाम एकताबारे नयाँ राजनीतिक सन्देश आउने अपेक्षा गरेका थिए। तर, उनीहरूले ठोस योजना दिन सकेनन्, एकताको आवश्यकता र सहकार्यको सम्भावनाबारे अभिव्यक्ति मात्रै दिए।

आ–आफ्नै अडान

आयोजकले विभाजित कम्युनिस्ट नेताहरूलाई एकै मञ्चमा ल्याएर एकताको सन्देश दिने प्रयास गरेको भए पनि उनीहरूले आ–आफ्ना अडान छाडेनन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताको आवश्यकता पहिलेदेखि नै रहेको तर अहिले बाध्यता बनेको बताए।

“वामपन्थी एकता आज मात्र होइन, अनेक कालखण्डदेखि आवश्यक थियो,” खनालले भने, “तर बीचमा कहिले हाम्रो सिङ पलायो, कहिले जुरो पलायो। अहिले बाध्यात्मक परिस्थिति सिर्जना भएको छ। अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ।”

त्यसपछि बोलेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनात्मक कुराले मात्र एकता नहुने भन्दै गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए। उनले बेलाबेलामा कम्युनिस्ट पार्टी मिल्ने विषय चर्चामा आउने गरे पनि आफूले तत्काल त्यस्तो सम्भावना नदेखेको बताए।

“कम्युनिस्ट पार्टी आज मिल्ने, बिहान मिल्ने, बेलुका मिल्ने भनेर चर्चामा आउने गरेको छ। यो प्रश्नको जवाफ दिँदा–दिँदा मेरो दिमाग खराब भइसकेको छ,” नेपालले भने, “म त्यस्तो देखिरहेको छैन।”

नेकपाका संयोजक दाहालले एमालेसँग तत्काल पार्टी एकता नभई सहकार्य मात्रै चाहेको बताए।

स्व मदन भण्डारीको तस्बिरमा पुष्पगुच्छा चढाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः प्रदीपराज वन्त/रासस

“सदनदेखि चुनावसम्म सहकार्य गर्न सकिन्छ,” दाहालले भने, “हामी विगतमा मिलेका पनि हौँ। जनताले दुईतिहाइ दिएका पनि हुन्। त्यसपछिको परिणामबारे समीक्षा गर्नुपर्छ।”

दाहालले हतारमा पार्टी एकता गर्ने र फुर्सदमा विभाजन भएर पछुताउने अवस्था दोहोरिन नहुने बताए।

त्यसपछि बोलेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि एमालेको सिद्धान्त स्वीकार्नुपर्ने सर्त राखे।

“हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताका लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन,” ओलीले भने, “हामीले राजनीतिक, सामाजिक, आर्थिकलगायत अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।”

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एउटा चुनावमा पराजित हुँदैमा कम्युनिस्ट शक्ति नसकिने मतमात्रै व्यक्त गरिन्।

यसरी नेताहरूले आ–आफ्नै अडान व्यक्त गरेको कार्यक्रमले अपेक्षित सन्देश दिन नसकेको एमाले भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया बताउँछन्।

“अहिलेको समयमा कम्युनिष्ट पार्टीका पूर्वप्रधानमन्त्रीहरूलाई एकै स्थानमा उपस्थित गराउनु आफैँमा ठूलो उपलब्धि हो भन्ने महसुस भएको थियो। कार्यकर्ताहरूले पनि त्यहीअनुसारको अपेक्षा गरेका थिए,” थपलिया भन्छन्, “तर कार्यक्रम सकिँदा कार्यकर्ताले त्यो उत्साह महसुस गर्न सकेनन्।”

साक्षी सभागृह

३ जेठ २०७५ मा मदन भण्डारी स्मृति दिवसको अवसरमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सभागृहमै भएको थियो।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ सिट जितेका एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा घोषणा हुँदा सभागृहमा नेता कार्यकर्ता खचाखच थिए। सातमध्ये ६ प्रदेशमा सरकार बनाएका दलहरू मिल्दा उनीहरूमा उत्साह थियो। कार्यक्रममा तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीलाई ‘जम्बोजेट’सँग तुलना गर्दै आफू र दाहालले त्यसलाई हाँक्ने बताएका थिए। तर, ‘जम्बोजेट’को उडान लामो समय टिक्न सकेन।

बायाँबाट क्रमश: नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेकपालाई अलग गरिदियो। एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए। एमाले पनि एकीकृत रहन सकेन। २ भदौ २०७८ मा एमाले पनि विभाजित भयो र नेपाल नेतृत्वको एकीकृत समाजवादी बन्यो।

१४ असार २०८२ मा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा सभागृहबाटै गरेकी थिइन्। मञ्चबाट उनले एमाले नेतृत्वमा दाबी प्रस्तुत गरेपछि एमालेभित्र तरंग उत्पन्न गरेको थियो। त्यसको एक महिना नपुग्दै ६ साउनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने भन्दै नवीकरण गरिएको सदस्यता खारेज गरेको थियो। एमालेले गत ४ जेठमा मात्रै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो।

यसपटक पनि कम्युनिष्ट नेताहरूले सभागृहको मञ्चबाट एकताको सन्देश दिने अपेक्षा आयोजकको थियो। २१ फागुन २०८२ को निर्वाचनमा धक्का खाएका कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिए, फेरि उठ्ने दाबी पनि गरे। तर कसरी उठ्ने भन्ने ठोस बाटो कसैले देखाउन सकेनन्।

“२०७५ सालको कार्यक्रममा कार्यकर्ताहरू उत्साहित थिए। गत वर्षको कार्यक्रममा सहभागी हुने कि नहुने भन्ने दुविधा र त्रासको अवस्था थियो,” थपलिया भन्छन्, “यो वर्ष थोरै आशा थियो, केही नयाँ कुरा आउला कि भन्ने अपेक्षा थियो। तर, आएन।”