काठमाडौँ। विशेष अदालतले पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासत राख्ने अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई म्याद थपका लागि आज (सोमबार) अदालत लगिएको थियो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थप गरेको हो।
आदेशबमोजिम आरोपित पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ गरेको थियो। अदालते ८ असारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सात दिनको म्याद सकिएसँगै पुन म्याद थपका लागि विभागले पौडेललाई सोमबार अदालतमा हाजिर गराएको हो।
अदालतको आदेशबमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका सिलसिलामा पौडेललाई पक्राउ गरेको विभागले जनाएको छ।