राहदानी छपाइ प्रकरण
काठमाडौँ। विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले राहदानी विभागका महानिर्देशक अर्याललाई पाँच लाख र निर्देशक सुनीलकुमार केसीलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ।
यस्तै कर्मचारीहरू शाखा अधिकृत सोमेश थापासँग तीन लाख, कम्युटर इन्जिनियर विपिन प्रसाईंसँग तीन लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
त्यस्तै अदालतले लेखा अधिकृत तुलसीप्रसाद आचार्य र उपसचिव राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा भ्रष्टाचार भएको भन्दै राहदानी विभाग महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो।