रौतहट। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानका समस्याप्रति अनुदार देखिएको आरोप लगाएका छन्।
२३औँ राष्ट्रिय धान दिवसका अवसरमा रौतहटमा आयोजित कार्यक्रममा उनले सरकारले किसानका समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे। “सरकार विपन्न र किसानको सहयोगी हुनुपर्नेमा बाधक बनेको देखिन्छ‚” उनले भने।
महामन्त्री पौडेलले तराईलाई कृषिको उर्वर भूमि रहेको बताए। उनले भने, “यहाँका किसानले अथक मिहिनेत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। विडम्बना‚ समयमा मल र उपयुक्त बिउबिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तरअनुसार उत्पादन गर्न सकेका छैनन्।”
उनले किसानका वास्तविक समस्याप्रति वर्तमान सरकार अनुदार र संवेदनहीन रहेको भन्दै आलोचनासमेत गरे। अब जलवायु परिवर्तनको असर किसानहरूलाई पनि पर्ने देखिन्छ। राज्यले कृषकका समस्यालाई प्राथमिकतामा नराख्दा समग्र कृषि क्षेत्र नै धराशायी बन्दै गएको उनको भनाइ थियो।
सोही क्रममा नेता पौडेलले आफ्नो पार्टीको विगतको भूमिकालाई लिएर मञ्चबाटै आत्मसमीक्षासमेत गरे। हिजो नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा किसानको पक्षमा थुप्रै काम भएको दाबी गर्दै उनले आफ्ना कमी-कमजोरी भने स्वीकारे।
“हिजो नेतृत्वमा रहँदा किसानका लागि काम नै नभएको होइन तर अपेक्षित रूपमा किसानका सम्पूर्ण समस्या समाधान हुनेगरी जसरी तीव्र गतिमा काम हुनुपर्ने थियो, त्यो हुन सकेन,” उनले भने, “त्यसका लागि म आम किसान दाजुभाइ तथा दिदीबहिनीसँग क्षमा चाहन्छु।” मधेसका मुद्दाका सवालमा जति आक्रामक हुनुपर्ने हो, त्यति हुन नसकेकोमा माफी माग्दै उनले आगामी दिनमा सुधार्ने वाचा गरे।
कृषिको आधुनिकीकरण र किसानको जीवनस्तर उकास्न अब परम्परागत शैलीले मात्र नपुग्ने भन्दै उनले त्यसका लागि आफ्नो पार्टीले आगामी दिनमा ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
२३औँ राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा स्थानीय किसान, कांग्रेसका कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो।