उड्डयन
कूटनीतिक पहल छाडेर प्रतिवेदन माग्नमै व्यस्त छ संसदीय समिति
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा २९ जेठमा पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल भयो। छलफलमा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई पोखरा र भैरहवा विमानस्थलको आर्थिक सम्भाव्यता तथा दिगो सञ्चालन रणनीतिबारे समितिसमक्ष लिखित रूपमा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
समितिले दिन नै तोकेर निर्देशन दिए पनि प्राधिकरणले दुई साता बित्दासमेत प्रतिवेदन बुझाएको छैन। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सम्बन्धित विमानस्थलले प्रतिवेदन बनाइरहेका कारण बुझाउन समय लागिरहेको हो।
भुल पोखरा र गौतमबुद्ध विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारले अनेक प्रयत्न गरेको बताउँछन्। “विमानस्थल सञ्चालन गर्न विगतदेखि अनेक प्रयत्न भएका छन्, तर वायुसेवा कम्पनीहरू पोखरा र भैरहवामा उडान गर्नै चाहँदैनन्,” उनी भन्छन्। यी विमानस्थलमा वायुसेवा कम्पनी आकर्षित नहुनुको मुख्य कारण सञ्चालन खर्च बनिरहेको छ।
कार्ययोजना बन्यो, कार्यान्वयन भएन
दुवै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले २०७९ सालमै कार्ययोजना तयार गरेको थियो। उक्त कार्ययोजना भदौ मसान्तसम्मका लागि लागु रहने प्राधिकरणले जनाएको छ।
गौतमबुद्ध विमानस्थलमा २ जेठ २०७९ बाटै अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। सुरुमा फ्लाई दुबई, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, जजिरा एयरवेज, थाई एयर एसिया र कतार एयरवेजलगायत केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आंशिक उडान गरे। गत मार्चको अन्तिमसम्म थाई एयर एसियाले उडान भरिरहेकै थियो। तर, यात्रु संख्या न्यून रहेको र सञ्चालन खर्च अत्यधिक भएको भन्दै सबै कम्पनीले क्रमशः उडान बन्द गरे।
सरकारले अन्तर्राष्ट्रिय उडान गर्ने विमानस्थल निर्माण गर्यो, तर हवाई मार्ग अनुमति लिन सकेन। भारत हुँदै आउने जहाजलाई अहिले दोहोरो मार्गको समस्या छ।
पोखरा विमानस्थलमा १८ चैत २०८१ बाट अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। हिमालय एयरलाइन्सले मार्च अन्तिमसम्म पोखरामा उडान गरिरहेको थियो। पोखरामा सिचुअन, हिमालय र फ्लाई दुबईले उडान गरिरहेका थिए। फ्लाई दुबईले सेप्टेम्बरदेखि पुन: पोखरामा उडान गर्ने तयारी गरिरहेको छ। पोखरा र भैरहवा दुवै विमानस्थलमा उडान गर्ने कम्पनीहरूको एउटै भनाइ यात्रु नभएको र उडान खर्च महँगो भएको गुनासो छ।
पोखरा र भैरहवा विमानस्थल हुँदै यात्रा गर्ने ५० प्रतिशत वैदेशिक रोजगारीमा जाने व्यक्ति हुन्छन्। पढ्न जाने ३० र २० प्रतिशत घुम्न जाने व्यक्ति हुन्छन्।
यस्तै, वायुसेवा कम्पनीहरूको गुनासो सम्बोधन गर्न सरकारले कार्ययोजनामार्फत विभिन्न छुटको व्यवस्था ल्याएको थियो । प्राधिकरणले हवाई टिकटमा लगाइएको कर पुनरवलोकन, इन्धनको मूल्य ‘ब्रेक इभन पोइन्ट’ मा निर्धारण गर्ने निर्णय पनि गर्यो।
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सरकारले वायुसेवा कम्पनीलक्षित सहुलियत र सेवा विस्तारको योजना पनि बनायो। वायुसेवा कम्पनीले उठाउँदै आएका लागत, यात्रु अभाव र सेवासुविधासम्बन्धी गुनासो सम्बोधन गर्न विभिन्न मन्त्रालय र निकायलाई जिम्मेवारी बाँड्दै बहुनिकाय कार्ययोजना कार्यान्वयनमै छ। वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट र इन्धन शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था छँदै छ।
नेपालले भारतसँग महेन्द्रनगर, लुम्बिनी, भैरहवा, जनकपुरमाथिको आकाश हुँदै हवाई मार्ग मागिरहेको छ। सन् २०१० देखि नै प्रधानमन्त्रीको भ्रमण हुँदा नेपालले पटक पटक हवाई मार्ग माग्दै आए पनि भारतले अनुमति दिएको छैन।
अन्तर्राष्ट्रिय पारवहन सुविधाको व्यवस्था, क्वारेन्टाइनको कार्यालय स्थापना, भिसा सेन्टर स्थापना, वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य मुलुकमा जाने व्यक्तिहरूलाई लक्षित गरी भिसाको आवेदन गर्ने व्यवस्था, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणमा मान्यताप्राप्त संस्थाहरूको सेवा सञ्चालन छ।
वैदेशिक रोजगारीका लागि जाने कामदारलाई प्रस्थानपूर्वको तालिम-अभिमुखीकरण, सामाजिक सुरक्षा कोष, बिमा, हवाई टिकटमा तीन हजार रुपैयाँ छुट, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क छुट, हवाई टिकटमा लगाइएको एक हजार रुपैयाँ पर्यटन शुल्क छुटको कार्ययोजना छ। कार्ययोजनामा कोड सेयरिङको नीतिगत व्यवस्था, नयाँ एयर मार्ग तयार गर्ने पनि छ।
उक्त कार्ययोजनामा अर्थ मन्त्रालय, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, गृह, कृषि तथा पशुपन्छी विकास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेका छन्। अध्यागमन कार्यालय, श्रम, भिसा, भन्सार सुविधादेखि प्राय: सबै सुविधा विमानस्थलमा पुगिसकेका छन्। “यात्रुहरूका लागि जे-जे सुविधा आवश्यक छन्, सबै उपलब्ध छन्,” पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला भन्छन्, “वायुसेवा कम्पनीले यात्रु छैनन् भन्छन्।”
हवाई मार्गको समस्या
प्राधिकरणका अनुसार पोखरा र गौतमबुद्ध विमास्थल सञ्चालन हुन नसक्नुका पछाडि मुख्य कारण हवाई मार्गको समस्या हो। जुन कुरा वायुसेवा कम्पनीहरूले सुरुदेखि नै उठाउँदै आएका छन्। सरकारले अन्तर्राष्ट्रिय उडान गर्ने विमानस्थल निर्माण गर्यो, तर हवाई मार्ग अनुमति लिन सकेन। अधिकांश जहाज भारत हुँदै नेपाल छिर्छन्। भारत हुँदै आउने जहाजलाई अहिले दोहोरो मार्गको समस्या छ।
अन्तर्राष्ट्रिय उडानका जहाज नेपाल आउने अहिले तीन वटा मार्ग छन्। चीनबाट तुम्लिङटार, बाङ्लादेश-भुटानबाट झापा हुँदै आउने एकतर्फी मार्ग छन्। भारतबाट सिमराको आकाश हुँदै आउने एक मात्र दुईतर्फी मार्ग छ। यही मार्गबाट अधिकांश जहाज नेपाल आउने गरेका छन्।
जहाज सिमरामाथिको आकाशबाट आठ मिनेटमा काठमाडौँ अवतरण गर्छन्। जबकि, भैरहवाबाट ३० र पोखराबाट ४० मिनेट लाग्छ। यो भनेको इन्धन खर्च बढ्नु हो। “एउटा न्यारोबडी जहाज सिमराबाट पोखरा-भैरहवा आउँदा-जाँदा तीन हजार डलर खर्च हुने अनुमान आउँछ,” प्राधिकरणका सूचना अधिकारी भुल भन्छन्, “त्यसैले वायुसेवा कम्पनीहरू आठ मिनेटनजिकैको काठमाडौँ एयरपोर्टमा उडान भर्छन्।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआउँदा विदेशी पर्यटक अझै काठमाडौँ हुँदै स्थल वा आन्तरिक उडानबाट पोखरा पुग्ने गरेका छन्।
नेपालले भारतसँग महेन्द्रनगर, लुम्बिनी, भैरहवा, जनकपुरमाथिको आकाश हुँदै हवाई मार्ग मागिरहेको छ। सन् २०१० देखि नै प्रधानमन्त्रीको भ्रमण हुँदा नेपालले पटक पटक हवाई मार्ग माग्दै आए पनि भारतले अनुमति दिएको छैन।
भारतले सुरक्षाको कारण देखाउँदै ती मार्ग प्रयोग गर्न नदिएको भुल बताउँछन्। “भारतले हुँदैन भनेको छैन, तर दिएको पनि छैन,” भुल भन्छन्।
भारतले ती मार्गमा १७-१८ हजार फिटमाथि जहाज उडाउन दिने प्रस्ताव राखेको छ। तर, त्यसरी जहाज नेपाल छिर्दा अवतरणकै लागि आधा घन्टा बढी आकाशमै ‘होल्ड’ हुन्छन्। “जहाज होल्ड हुनु भनेको इन्धन अतिरिक्त खर्च हुनु हो,” भुल भन्छन्, “यसकारण घाटाको हिसाब-किताब गरेर जहाजहरू सिमरामाथिको आकाश नै प्रयोग गर्छन्।”
पोखरा, अन्नपूर्ण र मुक्तिनाथ नेपालकै सबैभन्दा ठूलो र स्थापित पर्यटन करिडोर मानिन्छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका पर्यटकको उल्लेख्य आवागमन हुने यस क्षेत्रमा होटल, रिसोर्ट, ट्रेकिङ एजेन्सी, यातायात, रेस्टुराँ, साहसिक खेल तथा स्थानीय पर्यटन व्यवसायको बलियो पूर्वाधार विकसित भइसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआउँदा विदेशी पर्यटक अझै काठमाडौँ हुँदै स्थल वा आन्तरिक उडानबाट पोखरा पुग्ने गरेका छन्।
लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो। गौतम बुद्धको जन्मस्थल भएकाले यहाँ धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन केन्द्रित छ। मायादेवी मन्दिर, अशोक स्तम्भ र विभिन्न देशले निर्माण गरेका बौद्ध गुम्बाहरू मुख्य आकर्षण हुन्। दुवै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रमुख आधार नै पर्यटन थियो। पोखरा विमानस्थल निर्माण गर्दा सरकारलाई २२ अर्ब रुपैयाँ र गौतमबुद्ध विमानस्थल निर्माण गर्दा ३२ अर्ब रुपैयाँ ऋण लागेको थियो।