काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
तस्बिरः रत्न श्रेष्ठ/रासस
अ+
अ-

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पारित भएको छ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथिको दफावार छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसअघि मन्त्री मेहताले छलफलमा सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै सरकारले अघि सारेको १०० बुँदे सुधारको कार्यसूचीबमोजिम स्वास्थ्य क्षेत्रमा सुधार हुँदै आएको बताइन्। उनले विपन्न वर्ग पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर १० प्रतिशत शय्या व्यवस्था गरिएको स्पष्ट गरिन्।

विधेयकमाथि संशोधनकर्ता सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धकी, कृपाराम रानालगायतले छलफलमा भाग लिए। छलफलमा सांसदहरूले उक्त विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका समस्यालाई सम्बोधन नगरेको तथा पदाधिकारीलाई प्राथमिकता दिएकाले विद्यमान समस्या समाधान हुने गरी संशोधन गर्न आग्रह गरे।