काठमाडौँ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’मा चुनाव घोषणा भएपछि मतदाता नामावली दर्ता गर्न नमिल्ने व्यवस्था संशोधन भएको छ।
निर्वाचन आयोग स्रोतका अनुसार मतदाता नामावली ऐनको दफा ४ लाई संशोधन गर्ने गरी अध्यादेश आएको हो। उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था छ। सोही व्यवस्था परिमार्जन गर्दै ‘प्रतिनिधिसभा कार्यकाल पूरा हुनुअगावै विघटन भएर निर्वाचन घोषणा भएको अवस्थामा निर्वाचन आयोगले अवधि तोकी मतदाता नामावली संकलन, दर्ता वा अध्यावधिक गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ।
यसबाट युवा मतदाताको नाम नछुट्ने प्रावधान गरिएको आयोग स्रोतले बताएको छ।
भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका कारण अहिले अन्तरिम सरकार गठन भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरी आउँदो फागुन २१ गते निर्वाचन मिति घोषणा गरेका छन्।