काठमाडौं ।अनलाइन भुक्तानीलाई थप सुरक्षित, सहज र छिटो बनाउने उद्देश्यले डिजिटल भुक्तानी कम्पनी भिसाले भारतमा ‘भिसा पेमेंट पासकी’ सेवा सुरु गरेको छ।
नयाँ प्रणालीमार्फत अब कार्ड प्रयोग गरेर गरिने अनलाइन भुक्तानीमा ओटीपी (वन टाइम पासवर्ड) वा छुट्टै पासवर्ड आवश्यक नपर्ने भएको छ। यसको सट्टा प्रयोगकर्ताले आफ्नो मोबाइलमा उपलब्ध बायोमेट्रिक सुरक्षा, जस्तै फिंगरप्रिन्ट वा फेस रेकग्निसन, प्रयोग गरेर भुक्तानी प्रमाणीकरण गर्न सक्नेछन्।
भिसाका अनुसार यो प्रविधिले प्रयोगकर्ताको डिभाइसमा उपलब्ध सुरक्षा प्रणाली-फिंगरप्रिन्ट, फेस आइडी, पिन वा डिभाइस पासकोड-मार्फत प्रमाणीकरण गर्ने भएकाले ओटीपी चोरी वा फिसिङजस्ता साइबर ठगीको जोखिम घटाउन मद्दत पुग्नेछ।
यो सेवा फास्ट आइडेन्टिटी अनलाइन मापदण्डमा आधारित छ, जसलाई पासवर्ड–रहित र सुरक्षित डिजिटल प्रमाणीकरणका लागि विश्वव्यापी रूपमा प्रयोग गरिन्छ। भिसाले यसलाई कार्ड-आधारित अनलाइन भुक्तानीका लागि ओटीपीको प्रभावकारी विकल्पका रूपमा प्रस्तुत गरेको छ।
हाल यो सेवा भारतमा प्रारम्भिक चरणमा सीमित प्रयोगकर्ताका लागि उपलब्ध छ। भिसाले पहिलो बैंकिङ साझेदारका रूपमा आईडीएफसी फर्स्ट बैंकसँग सहकार्य गरेको छ।
यसका साथै, सेवा विभिन्न ई–कमर्स तथा डिजिटल प्लेटफर्ममा पनि विस्तार गरिएको छ। मिन्त्रा, पेटीएम, मेकमाइट्रिप, रिलायन्स डिजिटल र टाटा स्टारबक्सलगायतका मर्चेन्टहरूमा ‘भिसा पेमेंट पासकी’ प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।