काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

दृष्टिकोण

बाँदरले बालीनाली सखाप पारेकोबारे संसद्‌देखि सामाजिक सञ्जालसम्म गर्माएको बेला एउटा नयाँ अध्ययनले बाँदरसहितका जीवबाट मानिसमा परजीवी सर्न सक्ने तथ्य खुलासा गरेको छ।

२१ असार २०८३
माउ बाँदर र बच्चा। तस्बिरहरू : रोजरी कार्की
अ+
अ-

मध्य पहाडदेखि तराईका खेतहरूमा राता बाँदरले बालीनाली नष्ट गर्दा किसानहरू आहत छन्। बाँदरको झुन्डले अन्न सखाप पारेर जीविकोपार्जनमै चुनौती थपेपछि कतिपय ठाउँका किसान बसाइँ सर्न बाध्य हुने परिस्थिति सिर्जना भइरहेको छ। यही विषयमा केही महिनायता संसद्‌मा बहस चर्किंदै आएको छ। यस्तो बहसले बाँदर मार्ने कि जोगाउने भन्ने दुई पक्षमा समाजलाई बाँडिरहेको छ।

गत ६ जेठको संसद् बैठकमा नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले सरकारले एक हप्ताभित्र बाँदर नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक नै चल्न नदिने चेतावनी दिएका थिए। त्यसैगरी, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर मार्नुपर्ने आशय व्यक्त गरेका थिए भने सत्तारूढ रास्वपाकी सांसद आशिका तामाङले वन्यजन्तु अधिकारको रक्षा गर्नुपर्ने बताएकी थिइन्।

संसद्को चर्को बहसका बीच मानिस र बाँदरबीच बढ्दो सामीप्यले मानव स्वास्थ्यमा निम्त्याउन सक्ने गम्भीर जोखिम भने ओझेल परेको छ। यस सन्दर्भमा काठमाडौँको स्वयम्भू क्षेत्रमा भर्खरै गरिएको एउटा वैज्ञानिक अध्ययनले चिन्ताजनक तथ्य सार्वजनिक गरेको छ।

अध्ययनको खुलासा

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा हालै गरिएको विस्तृत वैज्ञानिक अध्ययनले मानिस, सहरी कुकुर र राता बाँदरबीच परजीवी संक्रमणको जोखिम तीव्र रूपमा बढिरहेको देखाएको छ। हाम्रो दैनिक र सामान्य देखिने सहरी वन्यजन्तुहरूसँगको अन्तरक्रियाका कारण यी क्षेत्र परजीवी संक्रमणको केन्द्र बनिरहेको यस अध्ययनले खुलासा गरेको हो।

व्यावहारिक अवलोकन, आगन्तुकहरूसँगको प्रश्नावली र परजीवीहरूको प्रयोगशाला विश्लेषणलाई संयोजन गरेर अनुसन्धान टोलीले मानिस, कुकुर र राता बाँदर गरी तीनवटै समूहमा विभिन्न प्रजातिका परजीवीको पहिचान गरेको छ। त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक लक्ष्मण खनाल, सहप्राध्यापक किशोर पाण्डे तथा विद्यार्थीहरू रोजरी कार्की, अनिशा केसी र सबिना लुइँटेलले बेलायतको युनिभर्सिटी अफ लिंकन, नटिंघम ट्रेन्ट युनिभर्सिटी र किल युनिभर्सिटीका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता टोलीसँग सहकार्य गरेर तयार पारेको अनुसन्धान लेख प्रतिष्ठित जर्नल पारासिटोलोजीमा प्रकाशित छ।

 तथ्यांक र जुनोटिक’ जोखिम

अध्ययनले तीनवटै समूहमा परजीवी संक्रमणको दर फरक फरक भए पनि उत्तिकै चिन्ताजनक रहेको देखाएको छ। रातो बाँदरमा संक्रमण दर ९६.६७ प्रतिशत, सहरी कुकुरमा ९० प्रतिशत र मानिसमा २६.६७ प्रतिशत पाइएको छ। मुख्यतया यी तीन समूहमा भेटिएका एन्टामिबा प्रजातिहरू ‘जुनोटिक’ क्षमता राख्छन्। अर्थात्, यी परजीवीहरू जनावरबाट मानिसमा सजिलै सर्न सक्छन्।

यस्तो संक्रमणले मानव स्वास्थ्यमा के असर पार्छ? चिकित्सकहरूका अनुसार एन्टामिबा जस्ता परजीवीको संक्रमणले सामान्यतया पखाला, पेट दुखाइ, वाकवाकी र शारीरिक कमजोरी निम्त्याउँछ भने केही अवस्थामा रगत मिसिएको झाडापखाला (अमिबिक डिसन्ट्री) र कलेजोमा फोका पर्ने जस्ता जटिलतासम्म हुन सक्छ।

त्यसैगरी, आइओडमिबा बुचली मानिस र बाँदर दुवैमा तथा अस्करिस प्रजाति मानिस र कुकुर दुवैमा भेटिएको थियो। यसले यी परजीवी बाँदर वा कुकुरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलै सर्न सक्ने देखाउँछ। यसअघि गरिएका विभिन्न अध्ययनले पनि वन्यजन्तु, घरपालुवा जनावर र मानवबीच यस्तो प्रजातिको संक्रमण हुन सक्ने तथ्य पुष्टि गरिसकेका छन्। जसलाई यस अध्ययनले थप ठोस आधार दिएको छ।

सहरी कुकुरहरूमा परजीवीको दर ९० प्रतिशतसम्म पुगेको देख्दा मानिसका लागि यो अर्को ठूलो खतरा देखिन्छ। कुकुरको माध्यमबाट समेत फैलिन सक्ने अस्करिस जस्ता परजीवीका अन्डाहरू उनीहरूको दिसा वा रौँमार्फत हावा, माटो वा पानी हुँदै सजिलै मानिसको शरीरमा पुग्न सक्छन्। यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँदै पेट दुख्ने, आन्द्रामा अवरोध सिर्जना गर्ने र परजीवीका डिम्बहरू फोक्सोसम्म पुग्दा श्वासप्रश्वासमा समेत जटिलता निम्त्याउन सक्छ।

स्वयम्भूनाथ जस्तै पशुपतिनाथलगायत मन्दिर क्षेत्रमा बाँदरको चहलपहल बढी देखिन्छ। मन्दिर दर्शनका लागि आउने पर्यटक, स्थानीय बासिन्दा र विशेषगरी वन्यजन्तुसँग प्रत्यक्ष सम्पर्कमा रहने पुजारी तथा सरसफाइ कर्मचारीहरू, जसले प्रायः मास्क वा पन्जाको प्रयोग गर्दैनन् र बाँदर वा कुकुरसँग स्पर्श दूरीमै रहन्छन्, यो संक्रमणको सबैभन्दा उच्च जोखिममा छन्।

परम्परागत मान्यता र व्यवहारिक तनाव

यस अध्ययनले देखाएको रोचक नतिजाले हाम्रा परम्परागत मान्यतालाई चुनौती दिएको छ। नेपाली समाजले पुस्तौँदेखि राता बाँदरसँग सहअस्तित्व कायम गर्दै आएको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले बाँदरलाई धार्मिक आस्थाको प्रतीक मान्छन्। स्वयम्भूनाथ र पशुपतिनाथ जस्ता तीर्थस्थलमा बाँदर र कुकुरलाई खानेकुरा, पानी दिनु भक्तजन र पर्यटक दुवैलाई सेवाभाव र धर्मसँग जोडिएको दैनिक चर्या बनेको छ। तर, यस वैज्ञानिक अध्ययनले हाम्रो यही पुण्य कमाउने व्यवहारले दृश्य रूपमा स्वास्थ्य संकट निम्त्याइरहेको देखाएको छ। परजीवी संक्रमण भौतिक सामीप्यले मात्र नभई मानव व्यवहार, दूषित वातावरण र जनावरमा बढ्ने मानसिक तनावका कारण पनि निर्देशित हुने यस अध्ययनले देखाएको छ।

अध्ययनकी सहलेखिका तथा युनिभर्सिटी अफ लिंकनकी सहप्राध्यापक लेटिसिया मार्सलका अनुसार भिडभाड हुने सहरी पर्यटकीय स्थलहरूमा मानिस, घरपालुवा जनावर र वन्यजन्तुहरू हामीले सोचेभन्दा धेरै नजिकबाट घुलमिल भइरहेका हुन्छन्। “बाँदरलाई आहारा दिने वा खुला रूपमा डुलिरहेका जनावरहरूको नजिकै उभिने जस्ता सामान्य क्रियाकलापले पनि प्रजातिहरूबीच परजीवीहरू स्थानान्तरणका लागि अवसर सिर्जना गर्न सक्छन्,” उनी भन्छिन्।

अध्ययन गरिएका तीन जीव समूहमध्ये बाँदरमा परजीवीको विविधता सबैभन्दा बढी पाइएको छ। यसै कारण अनुसन्धाताहरूले हाम्रा सहरमा रोगको जोखिमका लागि बाँदर र खुला कुकुरहरूले महत्त्वपूर्ण ‘रोग संवाहक’ का रूपमा काम गरिरहेकोतर्फ जोड दिएका छन्।

यी परिस्थितिले एउटा गम्भीर संकट निम्त्याइरहेको यस अध्ययनका सहलेखक तथा नटिंघम ट्रेन्ट युनिभर्सिटीका संरक्षण जीवविज्ञानका वरिष्ठ प्राध्यापक एवं स्टेफानो काबुरुले उल्लेख गरेका छन्। काबुरु भन्छन्, “वन्यजन्तुलाई खाना खुवाउने र जनावरहरूसँग नजिकको सम्पर्क जस्ता मानवीय गतिविधिले संक्रमणको जोखिम मात्र बढाउँदैनन्, जनावरको व्यवहार र तनावलाई समेत बदलेर अनजानमै जोखिम बढाउने गर्छन्।”

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. लक्ष्मण खनालका अनुसार बाँदरहरू मानिसले दिने आहारामा अभ्यस्त हुँदा उनीहरूको सामाजिक सन्तुलन परिवर्तन हुन्छ, भिडभाडका कारण उनीहरूको तनावको स्तर तीव्र बढ्छ र उनीहरू थप आक्रामक बन्छन्। यो व्यावहारिक परिवर्तन काठमाडौँका बाँदरको झुन्ड वरिपरि बसोबास गर्ने मानिसहरूले प्रत्यक्ष अनुभव गरिसकेका छन्।

नेपालभर तीव्र रूपमा भइरहेको सहरीकरणका कारण वन्यजन्तुका प्राकृतिक वासस्थानहरू खुम्चिँदै र खण्डीकृत हुँदै गएका छन्। यसले वन्यजन्तुहरूलाई जंगली आहारा छोडेर प्रत्यक्ष रूपमा दिइने खानेकुरा वा अव्यवस्थित रूपमा राखिएको सहरी फोहोरमार्फत खाद्य आपूर्तिमा निर्भर हुन बाध्य बनाएको छ। दैनिक रूपमा बाँदर घरभित्र पसेर सामान नष्ट गरिदिने, दिसापिसाब गरेर वातावरण दूषित बनाइदिने र खाद्यसामग्री खोस्ने क्रममा मानिसलाई चिथोर्ने वा टोक्ने गर्दा एकातिर रेबिज र अन्य जीवाणुजन्य संक्रमणको डर छ भने अर्कातिर स्थानीयमा निरन्तरको मानसिक तनाव र असुरक्षाको भावना पनि सिर्जना भएको छ। त्यसैगरी, सडक कुकुरले जथाभाबी गर्ने दिसापिसाबका कारण माटो र पैदलमार्ग दूषित हुँदा त्यस्ता स्थानमा खाली खुट्टा हिँड्दा वा राम्ररी हात नधोई खानेकुरा खाँदा परजीवीका अन्डा मानव शरीरभित्र प्रवेश गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालयको यस अनुसन्धान यो समयमा झनै सान्दर्भिक देखिएको छ। अहिले बाँदरको झुन्ड सहरी क्षेत्रमा मात्र सीमित नभई ग्रामीण बस्तीहरूमा प्रवेश गर्ने, खेतबारीमा पसेर बालीनाली नष्ट गर्ने क्रममा मानव र बाँदरका बीचमा अन्तरक्रिया र द्वन्द्व बढ्दो क्रममा छ। यस्तो अन्तरक्रियाको दौरान हुन सक्ने परजीवी संक्रमणको बारेमा समुदायलाई जानकारी गराउनु अत्यावश्यक देखिन्छ।

अबको बाटो

यस अध्ययनको निष्कर्षले सहरी तथा ग्रामीण योजनाकार, नीतिनिर्माता र जनस्वास्थ्य अधिकारीहरूका लागि तत्काल कदम चाल्नुपर्ने महत्त्वपूर्ण वैज्ञानिक खाका प्रदान गरेको छ। बाँदर नियन्त्रण वा व्यवस्थापन भनेको जनावरलाई धपाउने वा संसद्‌मा सिर्जना भएको सामाजिक विभाजनमा अल्झिएर मार्ने कि जोगाउने भन्नेमा मात्रै सीमित हुनुँहुदैन। यसको संख्या नियन्त्रणको बहसमा मात्र सीमित हुनु हुँदैन। बरु यसमा मानवीय गतिविधिलाई नियमन गर्नु र दीर्घकालीन वैज्ञानिक रणनीति अपनाउनु अपरिहार्य छ। यसका लागि स्वयम्भू, पशुपतिनाथलगायत सांस्कृतिक सम्पदा र सार्वजनिक स्थलमा बाँदर वा अन्य वन्यजन्तुलाई खानेकुरा दिन कडा प्रतिबन्ध लगाइनुपर्छ। यसले बाँदरलाई मानवप्रति निर्भर हुन र सहरी क्षेत्रमा झुम्मिने बानीलाई कम गर्नेछ।

यस्तै, खुला फोहोरको डंगुर नै बाँदर र खुला कुकुर सहरतर्फ आकर्षित हुने प्रमुख कारण हो। सम्पदा क्षेत्र वरपर ‘मंकी-प्रुफ’ (बाँदरले खोल्न नसक्ने) फोहोरदानी राख्ने र जैविक फोहोरको उचित विसर्जन गर्ने व्यवस्था मिलाउनुपर्छ। साथै, मानिस, जनावर र पर्यावरणको स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित छ भन्ने ‘वान हेल्थ’ दृष्टिकोणलाई नेपाल सरकारले आफ्नो जनस्वास्थ्य नीतिमा प्राथमिकताका साथ लागु गर्नुपर्छ। पशु स्वास्थ्य र जनस्वास्थ्य निकायले मिलेर यस्ता रोगको निगरानी गर्नुपर्छ। मन्दिर आउने आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दा र विशेषगरी पूजारी एवं सफाइ कर्मचारीलाई मास्क र पन्जाको प्रयोग गर्न तथा वन्यजन्तुसँग सुरक्षित दूरी राख्न सचेतना जगाउनुपर्छ।

बाँदर सहर पस्नुको मूल कारण जंगल विनाश र अतिक्रमण हो। मध्यपहाडी क्षेत्र र काठमाडौँ वरपरका जंगलमा बाँदरले रुचाउने फलफूलका बोटबिरुवा रोपेर उनीहरूको प्राकृतिक वासस्थानलाई समृद्ध बनाइनुपर्छ। नेपालले यतिबेला वन्यजन्तु संरक्षण, कृषि रक्षा र सम्पदा पर्यटनबीच सन्तुलन खोज्ने ठूलो चुनौतीको सामना गरिरहेको छ।

स्वयम्भूको यस अध्ययनले एउटा कुरा प्रस्ट पारेको छ भने, बाँदर नियन्त्रणमा ‘मार्ने कि जोगाउने’ भन्ने विकल्पमा बहस गरेर मात्र हुँदैन, हाम्रो व्यवहार पनि बदल्नुपर्ने रहेछ। प्रकृति र जीवजन्तुसँग हामीले गर्ने अन्तरक्रियाको शैलीले नै भोलिका रोग र महामारीको रूपरेखा तय गर्छ। त्यसैले संसद्को माइकमा गुन्जिरहेको बाँदरसम्बन्धी बहस फोहोर व्यवस्थापन, ‘नो-फिडिङ’ नीति र ‘वान हेल्थ’ रणनीतिमा नमोडिएसम्म आजको यो वैज्ञानिक चेतावनी भोलि ठूलो जनस्वास्थ्य संकटका रूपमा फैलिन सक्छ।

– वन्यजन्तु अनुसन्धाता कार्की राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत छिन्।