मधेस प्रदेश
जनकपुर। मधेस प्रदेशका विपक्षी दलहरूले बजेट अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै कुनै पनि अवस्थामा पारित हुन नदिने चेतावनी दिएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै विपक्षी दल जनता समाजवादी पार्टी, जनमत पार्टी र राप्रपाले बजेट पारित हुन नदिने चेतावनी दिएका छन्।
बजेट अव्यवहारिकसँगै बिचौलियामुखी र मन्त्रीमुखी भएको भन्दै यसले संघीयता धरापमा पार्ने उनीहरूको जिकिर छ। पूर्वमुख्यमन्त्री लालबाबु राउतले टुक्रे योजना एकीकृत गरेर सरकारले अव्यवहारिक रूपमा एक करोड रुपैयाँ राखेको बताए। प्रदेशको गौरवका कुनै पनि योजना नहुँदा यसलाई स्वीकार नगर्ने उनको दाबी छ।
त्यसैगरी अर्का पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बजेट अव्यवहारिक र अवैज्ञानिक रहेको बताए। उनले यसले अर्थशास्त्रका तमाम सिद्धान्तलाई उल्लंघन गरेको बताए। यसैले पनि बजेट कार्यान्वयनमा चुनौतीसँगै दिशाविहीन अवस्थामा रहेको उनको बुझाइ छ।
पत्रकार सम्मेलनमा अर्का पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बजेट एउटा क्षेत्रमा बढी र अर्कोमा कम ल्याइएको दाबी गरे। उनले बजेट क्षेत्रमुखी रहेको पनि बताए।
यसैगरी पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवले सरकारले बिचौलियालाई पोस्ने गरी बजेटमा पोषणका नाममा धेरै योजना राखेको दाबी गरे। उनले बजेट कार्यान्वयनमै जटिलता आउने र यसले संघीयतामाथि प्रश्न उठाउने दाबी पनि गरे।
प्रदेश सभा सदस्य उपेन्द्र महतोले मुख्यमन्त्रीको क्षेत्रमा धेरै बजेट रहेको बताए। चालु अवस्थामै बजेटको सुनिश्चितता नगरी धेरै योजनाको टेन्डर गरिएका कारण बहुवर्षीय योजना धेरै हुँदा कठिनाइ आउने भन्दै सरकारलाई सचेत गराए। उनले अव्यवहारिक बजेटले समस्या मात्र निम्त्याउने जिकिरसमेत गरे।