काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

राजनीति 

पार्टी एकता टुंग्याउन संस्थापनलाई शेखर कोइरालाको अल्टिमेटम, देउवा समूह राष्ट्रिय भेलाको तयारीमा

२१ असार २०८३
नेपाली कांग्रेसका नेता शेखर कोइराला, शेरबहादुर देउवा र सभापति गगनकुमार थापा।
अ+
अ-

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण र नयाँ वितरणको म्याद चौथो पटक थपेको छ। २ जेठ देखि सुरु भएको प्रक्रिया पूरा गर्न नसकिएपछि सदस्यता व्यवस्थापन समितिले समय थपेर ३ साउन पुर्‍याएको हो।

तर, यसपटक कांग्रेसले छुटेका सदस्यका लागि प्रक्रिया कडा बनाएको छ। २० असारसम्म अद्यावधिकमा नआएकाहरूले अब सिधै केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ र आफैँ उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्नेछ। २१ असारदेखि अद्यावधिकका लागि खुला गरिएको प्रणाली बन्द गरिएको कांग्रेसले जनाएको छ।

“छुटेका व्यक्तिहरूलाई अद्यावधिक गर्न फेरि समय दिइएको छ, तर अब यो केन्द्रबाट मात्रै सम्भव हुन्छ,” कार्यवाहक मुख्यसचिव कृष्ण दुलाल भन्छन्।

महामन्त्री तथा सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेल तोकिएको म्यादपछि प्रणालीबाट अद्यावधिक वा नयाँ सदस्यता नलिइने बताउँछन्। उनी भन्छन्, “अब तोकिएको मितिभन्दा एक दिन पछाडि जाँदैनौँ। सिस्टमबाट अद्यावधिक लिँदैनौँ, नयाँ सदस्य पनि थप्दैनौँ।”

निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला समूहले १४औँ महाधिवेशनपछि गरिएको नवीकरणलाई नै अद्यावधिकसरह मान्नुपर्ने अडान राख्दै आएका छन्। उनीहरू अद्यावधिकलाई महाधिवेशनमा भाग लिन अनिवार्य सर्त बनाउन नहुने पक्षमा छन्।

उनका अनुसार समयमै अद्यावधिक नगर्ने सदस्यलाई महाधिवेशनबाट बाहिर राख्ने निर्णय भने अहिले गरिएको छैन। त्यसबारे केन्द्रीय समितिले निर्णय गर्नेछ। “पार्टीको औपचारिक सिस्टम बन्द भए पनि सदस्य बन्न आउँछु भन्ने कांग्रेस सदस्यलाई महाधिवेशनको एक वा दुई महिनाअघि कहिलेसम्म समय दिने भन्ने केन्द्रीय समितिले निर्णय गर्छ,” पौडेल भन्छन्।

सदस्यता व्यवस्थापन समितिका सदस्य तथा उपसभापति प्रकाश रसाइली सदस्यता प्रक्रियामा कडाइ सुरु भएको बताउँछन्। भन्छन्, “यो अन्तिम पटकको समय हो। त्यसपछि निर्वाचन समितिलाई बुझाएर सभापतिमार्फत अनुमोदन गर्छौं।”

कांग्रेसले सुरुमा सदस्यता अद्यावधिक, नवीकरण र नयाँ सदस्यता वितरणका लागि २१ जेठसम्म समय तोकेको थियो। त्यसपछि म्याद २८ जेठ मध्यरातिसम्म पुर्‍याइयो। त्यतिबेला पनि प्रक्रिया पूरा नभएपछि ३१ जेठ, ७ असार, २० असार हुँदै ३ साउनसम्म पुर्‍याइएको छ।

इतर समूहलाई लक्षित गरी क्रियाशील सदस्यता अद्यावधिकको समय लम्ब्याउँदै गए पनि वार्ताका निम्ति सभापति गगन थापा अग्रसर भएका छैनन्।

यसरी म्याद पटक पटक थपिनुको मुख्य कारण इतर समूह प्रक्रियाबाहिर रहनु हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला समूहले १४औँ महाधिवेशनपछि गरिएको नवीकरणलाई नै अद्यावधिकसरह मान्नुपर्ने अडान राख्दै आएका छन्। उनीहरू अद्यावधिकलाई महाधिवेशनमा भाग लिन अनिवार्य सर्त बनाउन नहुने पक्षमा छन्।

संस्थापन पक्षले भने विधानअनुसार अद्यावधिक अनिवार्य रहेको बताउँदै आएको छ। तर, इतर समूह प्रक्रियाबाहिर रहँदा सदस्यता सूची, प्रतिनिधि चयन र महाधिवेशनको वैधताबारे प्रश्न उठ्न सक्ने भएकाले संस्थापनले म्याद थप्दै आएको छ।

कांग्रेसले २० असारसम्म अद्यावधिक भएका सदस्य संख्या सार्वजनिक गरेको छैन। कांग्रेसमा करिब सात लाख ८० हजार क्रियाशील सदस्य छन्। पौडेल भन्छन्, “सात लाखको हाराहारीमा अद्यावधिक भएको सूचना आएको छ। तर, वडाबाट पालिका, पालिकाबाट क्षेत्र, क्षेत्रबाट जिल्ला, जिल्लाबाट प्रदेश हुँदै केन्द्र आउनुपर्छ। त्यसैले पूर्ण विवरण आउन ढिलो भइरहेको छ।”

कोइरालाको अल्टिमेटम र देउवा समूहको तयारी

कांग्रेसमा सदस्यता विवाद प्राविधिक प्रक्रिया मात्र रहेन। आगामी १५औँ महाधिवेशनमा प्रतिनिधि चयन र नेतृत्व प्रतिस्पर्धाको आधार यही सदस्यता सूची हुने भएकाले यो कांग्रेसभित्र शक्ति सन्तुलनको मुख्य विषय बनेको छ। २७ पुसमा विशेष महाधिवेशनबाट निर्वाचित समितिले आगामी असोजभित्र नियमित महाधिवेशन गर्ने तयारी गरेको छ।

इतर समूहलाई सहमतिमा ल्याउन महामन्त्री गुरुराज घिमिरेले १२ असारमा कोइराला र १६ असारमा देउवा समूहका नेता पूर्णबहादुर खड्कासँग वार्ता गरेका थिए। ती वार्तामा दुवै पक्षले आफ्ना प्रस्ताव र सर्त राखेका थिए। घिमिरेले त्यसबारे सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई जानकारी गराएका थिए।

इतर समूहलाई लक्षित गरी क्रियाशील सदस्यता अद्यावधिकको समय लम्ब्याउँदै गए पनि वार्ताका निम्ति सभापति गगन थापा अग्रसर भएका छैनन्। उनले महामन्त्री घिमिरे र उपसभापति विश्वप्रकाश शर्मालाई अघि सारेका छन्। महामन्त्री घिमिरेले इतर समूहका दुवै नेतासँग वार्तापछि लामो समयदेखिको संवादहीनता टुटेको थियो।

इतर समूहले पार्टीमा एकताका लागि सभापति गगन थापाकै भूमिका खोजेपछि उपसभापति शर्मा १८ असारमा कोइरालालाई भेट्न धापासीस्थित निवास पुगे पनि ठोस प्रस्ताव नआएको कोइरालानिकट स्रोतको भनाइ छ। “उहाँ भेट्नका लागि मात्रै आउनुभएको थियो। कुनै अजेन्डा थिएन,” स्रोतले भन्यो।

१९ असारमा गोल्फुटारस्थित पूर्णबहादुर  खड्काको निवासमा बसेको देउवा समूहको बैठकले सभापति थापा पार्टी एकताको पक्षमा नरहेको निष्कर्ष निकालेको थियो। समूहले १५औँ महाधिवेशनको तयारीका लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

त्यसपछि कोइरालाले रिसाउँदै २५ असारभित्र पार्टी एकताको विषय टुंग्याउन अल्टिमेटम दिएको उनको सचिवालय स्रोतको दाबी छ। दुवैबीच भएको कुराकानीबारे थप सार्वजनिक गरिएको छैन।

३१ जेठमा भएको कोसी प्रदेशस्तरीय भेलाका लागि विराटनगर पुगेका कोइराला १७ असारमा काठमाडौँ आएका थिए। दुई दिनको बसाइमा उनले खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र एनपी साउदलगायत नेताहरूसँग भेट गरेका थिए। त्यसपछि उनी फेरि विराटनगर नै फर्किएका छन्।

उनले आफू सदस्यता अद्यावधिक नगर्ने बरु पार्टीले कारबाही गरे सामना गर्ने चेतावनी दिँदै आएका छन्। पछिल्लो समय विराटनगरकेन्द्रित भएका उनी जेन-जी आन्दोलनमा जलाइएको निवास निर्माणको रेखदेख गरिरहेका छन्।

देउवा समूहले भने अद्यावधिक गर्नैपर्ने भए कार्यालयले नै गरिदिन संस्थापन पक्षलाई दबाब दिँदै आएको छ। समूह सातै प्रदेशमा भेला सकेर महाधिवेशन तयारीमा समेत जुटिसकेको छ। १९ असारमा गोल्फुटारस्थित खड्का निवासमा बसेको समूहको बैठकले सभापति थापा पार्टी एकताको पक्षमा नरहेको निष्कर्ष निकालेको थियो। देउवा समूहले १५औँ महाधिवेशनको तयारीका लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

“अनेक बहाना झिकेर नेतृत्व पार्टी एकताबाट पन्छिँदै आएको छ। त्यसैले १५औँ महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरी राष्ट्रिय भेलाको तयारी थालेका छौँ,” पूर्वउपसभापति विमलेन्द्र निधि भन्छन्, “राष्ट्रिय भेला कहिले गर्ने भन्ने २२ असारको बैठकले निर्णय लिन्छ।”