काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १५५ खेलाडीलाई अक्सनका लागि योग्य ठहर गरिएको हो । अक्सन सोमबार काठमाडौंमा आयोजना हुनेछ ।
अक्सन सूचीमा समावेश खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत आठवटा फ्रेन्चाइज टोलीले कुल ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन् ।
क्यानले यस संस्करणदेखि प्रत्येक टोलीमा दुई अतिरिक्त नेपाली खेलाडी समावेश गर्ने व्यवस्था गरेको छ । मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित प्रत्येक फ्रेन्चाइजमा अब कुल १४ नेपाली खेलाडी रहनेछन् ।