काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

प्रहरीको दाबी र स्थानीयको संशय

२४ असार २०८३
विराटनगर १८‚ भेडियारीस्थित पोखरी। इन्सेटममा मन्जित यादव। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। मोरङको जहदा गाउँपालिका १‚ बुधनगरका १४ वर्षीय मन्जित यादवले २३ असार (मंगलबार) राति हतार-हतार खाना खाए। उनले आमा रन्जुदेवीलाई भनेका थिए- ‘म एकैछिनमा आइहाल्छु नि!’

आमाका लागि त्यो शब्द सामान्य थियो। छोरा बाहिर निस्कनु र केहीबेरमा फर्किनु उनको दैनिकी नै थियो। तर, मन्जितले बोलेको त्यो ‘एकैछिन’ यतिबेला उनको परिवारका लागि प्रतीक्षाको घडी बनेको छ। घरबाट निस्किएका मन्जित बुधबार बिहानदेखि विराटनगर १८‚ भेडियारीस्थित पोखरीको धमिलो पानीमा बेपत्ता छन्। आमा रन्जुदेवी यतिबेला छोराको बाटो हेर्दाहेर्दै अस्पतालको शय्यामा अचेत छिन्।

मन्जित दुई दिदीबहिनीका एक्ला भाइ हुन्। उनी कक्षा ६ मा अध्ययरत थिए। बुधबार बिहान ८ बजेको एउटा घटनाले सबैथोक उथलपुथल पारिदियो। मन्जितकी बहिनी सबिताका अनुसार मन्जित मंगलबार राति घरमा मोटरसाइकल लिएर आएका थिए। खाना खाएर निस्किएका उनी राति घर फर्किएनन्। “दाजु राति घरमा मोटरसाइकल लिएर आउनुभएको थियो। खाना खाएपछि आइहाल्छु भनेर निस्किनुभयो। तर रातभरि आउनुभएन,” सबिताले आँसु पुछ्दै भनिन्, “बिहान पोखरीतिर भाग्दा दाजु बेपत्ता भएको खबर आयो। त्यो सुनेपछि आमा मुर्छा पर्नुभयो। अहिले अस्पतालमा हुनुहुन्छ।” मन्जित कसरी त्यो पोखरीसम्म पुगे? उनी किन भाग्नुपर्‍यो? यी प्रश्नको वरिपरि अहिले विराटनगरको भेडियारी क्षेत्र तनावग्रस्त बनेको छ।

प्रहरीको दाबी र स्थानीयको संशय

प्रहरी र स्थानीय बासिन्दाबीच यो घटनालाई हेर्ने दृष्टिकोण फरक छ। स्थानीयका अनुसार बुधबार बिहान मन्जित भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए। सोही क्रममा प्रहरीले उनलाई पिछा गरेको थियो। “गाँजा बोकेको आशंकामा प्रहरीले लखेटेपछि उनी ज्यान जोगाउन पोखरीमा हामफालेको कुरा आएको छ,” स्थानीय शंकर यादव भन्छन्, “प्रहरीले कसरी लखेट्यो र एउटा १४ वर्षको बालक किन पोखरीमा डुब्ने अवस्थामा पुग्यो? यसको गहन छानबिन हुनुपर्छ।”

मन्जित बेपत्ता भएपछि पोखरीको छेउमा भेला भएका आफन्त र छिमेकी। 

यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोक्न खोजेको थियो। तर चालक मन्जित मोटरसाइकल छाडेर भाग्न खोज्दा नजिकैको पोखरीमा पसेका थिए। “हामीले उनी पोखरीमा डुबेको प्रत्यक्ष देखेका त होइनौँ। तर स्थानीयले देखेपछि र हाम्रो टोलीले सुइँको पाएपछि खोजी कार्य तीव्र पारेका छौँ,” घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने।

तनाव र खोजी
बुधबार दिनभर भेडियारीस्थित पोखरीको किनारमा स्थानीयको भिड लाग्यो। कोही पोखरीको पानीमा मन्जितलाई खोजिरहेका थिए। कोही प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका थिए। स्थानीयले खोजीमा ढिलासुस्ती भएको भन्दै आक्रोश पोखेका छन्।

घटनास्थलमा सुरक्षा निकायका प्रमुखहरू।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार विपद् व्यवस्थापनको तालिमप्राप्त टोलीले दिनभर खोजी जारी राखेको थियो। “आज फेला पार्न सकिएन भने भोलि बिहानैदेखि कोसी प्रदेशको विशेष गोताखोर टोली परिचालन गर्नेछौँ,” भण्डारीले जानकारी दिए।

गाँजा र पक्राउ परेका भारतीय
घटना केवल एउटा किशोर बेपत्ता हुनुमा मात्र सीमित छैन। मन्जित सवार रहेको भनिएको सोही मोटरसाइकलको पछाडि एक भारतीय पनि थिए। प्रहरीले भारतको सुपौल जिल्ला गनौरा पञ्चायत ५ का ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरेको छ।

मन्जित बेपत्ता भएपछि पोखरीको छेउमा भेला भएका आफन्त र छिमेकी।

प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुमानमा मन्जितलाई ती भारतीयले गाँजा ओसारपसारमा प्रयोग गरेको हुनसक्ने देखिन्छ। तर १४ वर्षीय विद्यार्थी कसरी यो अवैध धन्दाको भुमरीमा फसे र अन्ततः पोखरीमा हराउन पुगे? भन्ने कुराले धेरैलाई स्तब्ध बनाएको छ।