काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

रंगमञ्च

नाटक ‘द टेस्ट अफ सेलरोटी’ ले किराती मिथकसँगै नेपाली राजनीतिको पृष्ठभूमिमा मातृस्नेह, करुणा र प्रतिरोधलाई एकसाथ गाँसेको छ।

२६ असार २०८३
द टेस्ट अफ सेलरोटी। तस्बिर सौजन्य : कथा घेरा
अ+
अ-

पहिले अनुभूत गरिएकै घटनाको सादृश्यमा नयाँ घटना मनमा चित्रित हुन्छ। मेरो मनमा कैयौँ दिनदेखि तेहरानको धुलाम्मे सडकमा ओहोरदोहोर गरिरहेको पात्र ‘बादी’ कुनै उपमेयका रूपमा घुमिरहेको छ। आँखाभरि असार बोकेर हिँडिरहेको उसलाई यसरी सम्झिरहेकी छु कि उसको सम्झनाले मन यसै भारी भइरहेको छ। यादको लहरो फैलाउँदै स्मृति गाढा बनाइदिने सेतु हो, कौसी थिएटरमा मञ्चन भइरहेको नाटक द टेस्ट अफ सेलरोटी। वर्षौंदेखि मेरो मानसमा बाँचिरहेको ‘टेस्ट अफ चेरी’ कै तुल्यतामा यस नाटकले पनि मनको छेउकुना चस्काउला त? नामकै फुर्को समाएर फुर्किँदो छ मन। ओसिलो दिनमा प्रश्नालु मनको छटपटी मेट्न आतुर म यतिबेला थिएटरभित्र छु। र, मसँगै छ जीवनको अर्थ खोज्न नसकेर हिँडेको उही पात्र ‘बादी’, जसको यादलाई बिसाउनु छ आज मैले यतैकतै।

केन्द्रीय विम्बमा प्रेम

सेलरोटी सम्बन्धको चक्रीय रूप, जहाँबाट सम्बन्ध फन्को मार्दै सुरु भएकै बिन्दुमा आएर जोडिन्छ। कस्तो गहिरो ‘मेटाफोर’! हामीमध्ये कति भागिरहेका छौँ प्रेमदेखि? जीवनदेखि?

तीन भागमा विभाजित नाटकको पहिलो भागमा रंगमञ्चको पर्दा खुल्नुअघि पर्दाबाटै आङ जिरिङ्‌ग पार्ने दृश्यचित्र सुरु हुन्छ– जेन-जी विद्रोह। एम्बुलेन्सको साइरनसँगै एउटा अनपेक्षित घटनाको साक्षी भएको दिनको स्मृति दोहोरिन्छ। यहाँ के हुन लागिरहेको छ? पक्कै सबैको मन निचोरिएको छ। धन्न, पर्दा खुलेपछिको फरक दृश्यले केही क्षणलाई राहत दिएको छ। यद्यपि, त्यही आन्दोलनको गर्तबाट सधैँ आलो भइरहने घाउ कथामा जोडिएको छ।

दुई पात्र म्हिसाम्मा र सोम्योक आफ्नो अधुरो कथाको स्मरणमा बेचैन छन्। उनीहरूको स्मृतिमा जेन-जी आन्दोलनमा छोरी गुमाउनुको पीडा जिउँदो छ। बितिसकेकी छोरीको जन्मदिनको छेको पारेर आफ्नो पूर्वसम्बन्धको स्मृतिमा गफिरहेका यी दुई पात्र कुनै समयका एक जोडी हुन्।

“तिमी खुसी त छौ नि?”

द टेस्ट अफ सेलरोटीको पोस्टर। तस्बिर सौजन्य : कथा घेरा

जवाफमा वर्तमान लोग्नेको हरेक चुम्बनमा सोम्योकलाई सम्झिनु र हरेक चुरोटको धुवाँपछि आफ्नै सास सोम्योककै सास जस्तो लाग्नु– यो म्हिसाम्माको कस्तो ‘आइरोनी’ हो?

म्हिसाम्माको एउटा उत्तरआधुनिक सम्बन्ध छ, जसको वर्तमान लोग्ने बाहिर सडकमा उसैलाई कुरिरहेको छ। किचेनको सेटिङबाट सेलरोटीको मीठो बास्ना हलभरि फैलिन थालेको छ। तर, वातावरण सम्बन्धको रिक्ततामा निस्सासिँदो छ। सेलरोटी त बहाना न हो। वास्तवमा यी दुई पात्र आफ्नै विगतमा हराउन चाहन्छन्।

सामाजिक दार्शनिक एरिक फ्रामले दुई व्यक्तिबीच प्रेम उनीहरूको अस्तित्व-केन्द्रको महसुसबाट नै सम्भव हुन्छ भनेका छन्; त्यसको मर्म यहाँ चित्रित छ। म्हिसाम्मा र सोम्योकको अस्तित्वको केन्द्रीय अनुभवमा यहाँनेर प्रेमको जीवन्तता जोडिएको छ। प्रेमको यही अस्तित्वगत सारतत्त्वमा उनीहरू कहिल्यै एकअर्काबाट वा आफैँबाट अलग्गिएका छैनन्। बरु कति कति अविश्वास र चित्त दुखाइमा पनि सीमाहीन प्रेम बाँचिरहेका छन्।

सायद गुनासो सकिएपछि प्रेम पनि सकिन्छ र त छन् यिनीहरू अनेक गुनासासहित। प्रेमको अधुरोपन लिएर विसंगत जीवन बाँचिरहेका दुई पात्रबीच प्रेम नभए जस्तो देखिएर पनि प्रेम हुनुका संवादहरूले छोरी-स्मृतिको प्रसंगलाई भने छोपिदिएको महसुस हुन्छ।

सृष्टिको गर्तमा प्रेम, स्त्रीचेतना र सहअस्तित्व

नवसृष्टिको पर्खाइ-उत्सवमा मग्न गर्भिणी सुम्निमाको मधुरो आलाप। हावाको वेग जस्तै पारुहाङको प्रवेश अनि सुम्निमाको हुंकार। एकै झल्कोमा यस दृश्यको गाताभित्र कति कति अवर्णित कथाका पानाहरू लुकेको आभास हुन्छ।

आफ्नो गर्भमा सभ्यताको आदिम आवाज बोकेर हिँडिरहेकी सुम्निमा पारुहाङको अप्रत्याशित आगमनसँगै झनै जब्बर भएकी छ। आफ्नो गर्भको स्वत्वबारे सुम्निमाको अन्तर्मनको आवाज ‘मेरो शरीर, मेरो अधिकार’ को उद्धरणभित्र समाहित प्रजनन अधिकार र शारीरिक स्वायत्ततालाई अभिव्यक्त गर्ने नारीवादी चेतनाको समानान्तर उभिएको छ।

पृथ्वी जस्तै सुम्निमा आफ्नो गर्भको अधिकार र ममत्वको गहिराइबारे पारुहाङसँग निकै तार्किक बनेकी छ। यस तर्कमा एउटा सृष्टि थामिरहेकी आमाको करुणासहितको प्रतिरोध छ। मुन्धुमी दर्शनमा समाहित अद्वितीय स्त्रीचेतनाको रेखा नाटकमा यही बिन्दुबाट कोरिएको छ।

मुन्धुमी सृष्टिकथाको मुहानमा भेटिएका यी प्रेमिल जोडीको प्रेम सम्पूर्ण सृष्टिलाई धान्ने सहअस्तित्वको दर्शनबाट सुरु हुन्छ। हावालाई प्रेमको साउती पठाएर सुरु भएको प्रेमकथामा सुम्निमाले पारुहाङसामु आफ्नो गर्भको स्वामित्वबारे राखेको एकपछि अर्को अडान मातृत्व चेतनाभित्रको मातृशक्तिको गहिरो उद्गार हो।

पारुहाङको स्पष्टोक्तिसँगै एकैछिनमा कोमल बनेको वातावरणमा प्रेमले अधिकार नभई सहयात्राको भाषा सिकाउँछ। सुम्निमाले पारुहाङलाई आफूमै बाँध्न खोज्दिनन्, पारुहाङले पनि सुम्निमाप्रति प्रभुत्व जमाउन खोज्दैनन्। न त्यहाँ स्वामित्वको भाषा छ, न नियन्त्रणको इच्छा।

करुणा, सम्मान र सहअस्तित्वमा रूपान्तरित प्रेमको अंकुरणलाई चुमेर जाँदाजाँदै पारुहाङ भनिरहन्छन्, ‘मलाई ओइलाउन नदेऊ है।’

एकअर्कालाई स्वतन्त्र छोडिदिँदै गर्दा पनि एकअर्काविना अपूर्ण रहने सत्य उनीहरू स्वीकार गर्छन्। मुन्धुमी कथामा यहाँ मञ्चित सृष्टिभित्रको अगोचर प्रेमकथाले स्त्रीचेतना र सहअस्तित्वको आख्यानलाई आलंकारिक रूपमा समेटेको छ। समयको किनारामा उनीहरू फेरि भेटिए वा भेटिएनन् भन्ने प्रश्न छोडेर यो अध्याय सकिन्छ।

चेतनाको प्रश्निल लय

नाटकको अन्तिम अध्यायमा सन्तानवियोगमा आहत एक जोडीको कथा छ, जसलाई किराती किंवदन्तीमा बाँचिरहेको थिबिया चराको मिथकीय सिलसिलासँग जोडिएको छ। सशस्त्र द्वन्द्वकालमा छोराको जीवन रक्षार्थ एउटी आमाको संघर्षले आमा जातिमा अन्तर्निहित संवेदनाको पक्षलाई उजिल्याएको छ।

छल र झुटहरूको जञ्जालमा के आमाहरूका सपना यसरी नै तुहिन्छन्? मनसँघार नाघेर हेन्खामाको बेहिसाब ममताले सधैँ आशाको लालटिन बालिरहन्छ। सन्तानकै केन्द्रीयतामा दुई पात्रबीच भएका संवादहरूले दर्शकको मन चोइट्याउँछन्।

जोखाना हेरेर फर्किएको हेत्छाहाङले छोरा नफर्किने कुरा जति पटक दोहोर्‍याउँछ, उति नै पटक हेन्खामा यो सत्य अस्वीकार गर्छिन्। मातृवात्सल्य र प्रेमका मनमुटु चुँडाउने यी सबै परिदृश्यले दर्शकलाई भावनात्मक रूपमा एकाकार गराउँछन्।

किराती पुराकथाको थिबिया चरामा आरोपित एक आमाको क्रन्दनले खोलैखोला विरहको गीत गाउँदै हिँड्ने थिबिया अर्थात् थेबे चराको कथासँगै गहिरो पीडालाई मसिनोसँग उनेको छ। कम्युनिस्ट मेनिफेस्टो, कृषिक्रान्ति र साम्यवादको कुरा गर्दै हिँड्ने हेत्छाहाङ आफैँभित्र टुक्रिएको छ।

सांकेतिक रूपमा जनयुद्ध र पुत्रवियोगको कथा उनेको यस कथांशले मूलतः किराती मिथकसँगै नेपाली राजनीतिको पृष्ठभूमिमा मातृस्नेह, करुणा र प्रतिरोधलाई एकसाथ गाँसेको छ।

एक फन्कोमा अविस्मृत समय

सेलरोटीलाई विम्ब बनाएर जीवनका अनेक संवेदना सँगसँगै पस्किनु नाटकको बलियो पक्ष हो। सेलरोटीको गोलाइ जस्तै सुरु र अन्त्य छुट्याउन नसकिने कथाको अन्तर्यमा फरक समयको बाटुलो घेरा छ।

यही घेरोमा किराती पुराकथाको फेरो पकड्दै राजनीतिक मुखौटाहरू, मानवीय संवेदना, स्मृतिदंश, प्रेम र स्त्रीचेतनालाई बहुआयामिक ढंगबाट उठाइएको छ। आखिर जहाँ पुगे पनि मान्छे अन्ततः आफ्नै सम्झनाको भूगोलभरि फर्किन्छ। सेलरोटी-विम्ब सायद यसैको सांकेतिक भाषा हो। र, आफ्नै जरातिरको यात्रा पनि।

सशस्त्र जनयुद्ध र जेन-जी आन्दोलन जस्ता राजनीतिक पृष्ठभूमिमा कथा जोडिरहँदा भने लेखकीय वैचारिकी स्पष्ट अडानमा नभई सन्तुलित रूपमा उत्रिएको छ। प्रोजेक्टरबाट देखाइएको जेन-जी विद्रोहको दृश्यलाई पहिलो भागले पूर्णता दिए जस्तो लाग्दैन।

उसो त यहाँका हरेक कथा अधुरोपनको लहरो समाएर तन्किएका छन्। नाटकको एक भाग नै वान्तवा भाषामा राखिनुले शासककेन्द्रित भाषिक संरचनामाथिको चुनौतीसँगै भाषा संरक्षणको एउटा अभियानलाई जोडेको छ। ‘प्रोजेक्टर’ ले घरीघरी आँखा झिम्काइरहँदा पनि गैरवान्तवाभाषीलाई उत्तिकै बाँधेर राख्न सक्ने निर्देशकीय क्षमता सुप्रशंसनीय छ।

सशस्त्र जनयुद्ध र जेन-जी आन्दोलन जस्ता राजनीतिक पृष्ठभूमिमा कथा जोडिरहँदा भने लेखकीय वैचारिकी स्पष्ट अडानमा नभई सन्तुलित रूपमा उत्रिएको छ। प्रोजेक्टरबाट देखाइएको जेन-जी विद्रोहको दृश्यलाई पहिलो भागले पूर्णता दिए जस्तो लाग्दैन।

सन्दर्भ र संवादको संयोजनमा कतिपय ठाउँमा विषयान्तर हुँदा नाटकले अमूर्तीकरणको डोरो समाउँछ। नाटकमा प्रयुक्त गीतहरू रेकर्डेड हुँदा वातावरणमा कृत्रिमता पैदा गरिदिन्छन्। म्हिसाम्माले छुट्टिने बेला सोम्योकलाई सेलरोटी दिने दृश्य जबरजस्ती थोपरिएको जस्तो अस्वाभाविक लाग्छ।

यति हुँदाहुँदै दुई पात्रको भावभंगी, कायिक अनुभाव र भिन्न परिवेशमा विस्तारित मञ्चीय कार्यव्यापारले दर्शकलाई मीठो संस्मृतिमा बाँधिदिन्छ। कलाकारद्वय वेदना राई र प्रयास वान्तवा राईको अभिनय कौशल अत्यन्त महनीय छ।

लेखक आफैँ कवि भएकाले पनि हुन सक्छ, पूरै नाटक काव्यिक बनेको छ। तीन फरक समय र सन्दर्भलाई समान भावात्मक र विचारात्मक रूपमा मिहिन ढंगले उन्न सक्ने लेखक तथा निर्देशक मिल्सन डी. चाम्लिङको निर्देशकीय डेब्युले नेपाली नाट्य मैदानलाई पक्कै थप उर्वर बनाउनेछ।

नाटक सकियो। बाहिर झमझम असार बर्सिरहेको छ। सेलरोटी र आमा-स्मृतिले नियास्रिँदो छ मन। अनि मसँगै रहेको बादीलाई छोडिदिएको छु यतैकतै अन्तरकुन्तरमा।

मिस्टर बादी! अस्तित्व संकटबाटै अस्तित्वको संघर्ष विस्तारित हुन्छ। यति हो, कहिलेकाहीँ जीवन आफैँमा अनुत्तरित प्रश्न बनिदिन्छ। तिमीलाई थाहै छ, कठ्यांग्रिँदो हिउँदको गर्भमै वसन्तको अनाम सपना लुकेको हुन्छ। तिमीभित्रको असह्य क्षण जस्तै अनित्य छ सबै यहाँ।

तिमीमा छाएको अस्तित्वगत शून्यता, गहिरो एक्लोपन र मृत्युउन्मुख विसंगतिबोधबाट टाढा रहेको सग्लो तिमीलाई एक दिन भेट्नु छ। त्यसबेला जीवनको बोधबाट सरल हिसाबमा मृत्युबोधबारे चिन्तन गरिरहेको तिमीलाई धीत मर्ने गरी सुन्नेछु।

भेट त हुनेछ नै जीवनको बेनाम कुइनेटामा, तर चेरीको बोटमुनि होइन; सेलरोटी जस्तै घुमिआउने स्मृतिको कुनै अर्को गोलार्द्धमा।