काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा बनेका विभिन्न चार संस्थाका २६ वटा व्यावसायिक सटरहरू सोमबार भत्काइने भएको छ ।

अस्पतालको जग्गा ओगटेर बनाइएका ती व्यावसायिक संरचना हटाउन दिइएको सात दिने समयसीमा आइतबार सकिँदैछ । समयसीमा सकिनु एक दिन अगावै शुक्रबार पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले सोमबारदेखि डोजर चलाएर संरचना भत्काइने जानकारी दिएको हो ।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइटेलका अनुसार भत्काइने सटरहरूमा ‘रातो स्टिकर’ समेत टाँस गरिसकिएको छ ।

अस्पताल प्रशासनले अहिले नै ती चार संस्थाका मुख्य भवन भने नभत्काइने स्पष्ट पारेको छ । अस्पतालका मेसु डा. चन्द्रभाल झाले भने, “अहिले जनमानसमा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका भवन नै भत्किन लागेको भन्ने भ्रम छ । तर, तत्काल ती संस्थाले उपभोग गरिरहेका मुख्य भवन भत्किने छैनन् । उनीहरूले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटरहरू मात्र भत्काइनेछ ।’’

कुन संस्थाका कति सटर भत्किँदै?

अस्पताल प्रशासनका अनुसार सोमबार भत्काइने संरचनाहरूममा गणेश मन्दिर परिसरका ५ वटा सटर भत्किनेछन् । जसमा उज्ज्वल फर्मा, कलश फर्मा, उत्सव किराना पसल, श्रुति फार्मेसी र बालबालिका क्लिनिक रहेका छन् । यी पसलहरूले मन्दिरलाई मासिक ६० हजार रुपैयाँसम्म भाडा बुझाउँदै आएका थिए ।

क्षयरोग निवारण संस्थाका ९ वटा सटर भत्किनेछन् । जसमा श्रेष्ठ खाजाघर, मदिना होटल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत पसल, मोनिका फार्मेसी, निरुपमा होटल र दुईवटा खाली सटर रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेका सुनिल भेराइटीज, सुमना ट्रेडर्स, त्रिवेणी फोटो स्टुडियो, राष्ट्रिय वाणिज्य बैंक, कोशी मार्भलस र मिना मेडिकलका सटरहरू भत्किनेछन् । देवकोटा पुस्तकालय अन्तर्गतका ६ वटा व्यावसायिक सटरहरू भत्काइनेछन् ।

मन्त्रीहरूको निर्देशनपछि एक्सन

अस्पतालले सुरुमा १५ दिने सूचना जारी गरे पनि संरचना खाली हुन सकेको थिएन । त्यसपछि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी ७ दिनभित्र अतिक्रमण गरिएका संरचना हटाउन निर्देशन दिएका थिए । मन्त्रीहरूको निर्देशन र स्थानीय प्रशासनको पहलपछि यो प्रक्रिया अगाडि बढेको हो ।

कोशी अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को बहुमूल्य जग्गामा यी चार संस्थाले लामो समयदेखि पकड जमाउँदै आएका छन् । अस्पतालको आन्तरिक अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा ओगटेर मासिक करिब दुई लाख रुपैयाँ भाडा उठाउँदै आएको छ ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले २ कट्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरूबाट मासिक लाखौँ रुपैयाँ असुलिरहेको पाइएको छ । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयन गर्न र आफ्नै जग्गा सदुपयोग गर्न यो कदम चालेको जनाएको छ ।