काठमाडौँ। शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारकै क्रममा मृत्यु भएको छ।
बुद्धनगरस्थित घरमा राउतले शनिबार बिहान आफ्नै घरमा शरीरमा आगो लगाएका थिए।
उनको शरीरको ५० प्रतिशतभन्दा धेरै भाग जलेको थियो। वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ४५ वर्षीय राउतले व्यक्तिगत तनावमा आफ्नै शरीरमा आगो लगाएका थिए। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।
यसअघि त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको पनि उपचारकै क्रममा शुक्रबार मृत्यु भएको थियो। उता सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।