धमाधम सारिँदै सामान
विराटनगर। कोसी अस्पताल विराटनगरले अतिक्रमित संरचना हटाउन सोमबारदेखि डोजर चलाउने चेतावनी दिएपछि यहाँका व्यावसायिक सटरहरू धमाधम खाली हुन थालेका छन्।
अस्पतालले दिएको सातदिने समयसीमा सकिन एक दिन बाँकी रहँदै शनिबारदेखि व्यवसायीहरूले सटरका सामान सार्न र संरचना खाली गर्न थालेका हुन्। अस्पतालले आफ्नो स्वामित्वको जग्गामा बनेका चार संस्थाअन्तर्गतका २६ वटा व्यावसायिक सटर सोमबारदेखि भत्काउने तयारी गरेको छ।
यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले अतिक्रमित संरचना नहटाए डोजर चलाएर भत्काइने स्पष्ट पारेको थियो। अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार भत्काइने सटरहरूमा ‘रातो स्टिकर’ समेत टाँस गरिसकिएको छ।

अस्पताल प्रशासनले गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका मुख्य भवन तत्काल नभत्काइने स्पष्ट पारेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका २६ वटा सटर मात्र हटाइने जानकारी दिए।
अस्पतालका अनुसार गणेश मन्दिर परिसरका पाँच, क्षयरोग निवारण संस्थाका नौ, नेपाल रेडक्रस सोसाइटीका ६ र देवकोटा पुस्तकालयअन्तर्गतका ६ वटा व्यावसायिक सटर भत्काइनेछन्। ती सटरहरूबाट सम्बन्धित संस्थाहरूले मासिक लाखौँ रुपैयाँ भाडा उठाउँदै आएका छन्।

अस्पतालले यसअघि १५ दिने सूचना जारी गरे पनि संरचना खाली नभएपछि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी सात दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए। मन्त्रीहरूको निर्देशन र स्थानीय प्रशासनको पहलपछि अतिक्रमण हटाउने प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ।
कोसी अस्पतालको स्वामित्वमा रहेको विराटनगर ७ का विभिन्न कित्तामा पर्ने बहुमूल्य जग्गामा लामो समयदेखि चार संस्थाले व्यावसायिक सटर सञ्चालन गर्दै आएका छन्। अस्पतालले आफ्नै गुरुयोजना कार्यान्वयन र स्वामित्वको जग्गा सदुपयोग गर्न अतिक्रमित संरचना हटाउने अभियान अघि बढाएको जनाएको छ।