खैरहनी । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विगतका वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा बढी रासायनिक मल आयात गरिएको जानकारी दिएकी छन्।
चितवनको खैरहनीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले किसानहरूलाई सहज र सरल रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिपरेको स्पष्ट पारिन्।
मन्त्री चौधरीले यस वर्ष धान रोपाइँ सुरु हुनुअगावै किसानका हातमा मल पुर्याउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण सोचेजस्तो हुन नसकेको स्वीकार गरिन्।
सहज रूपमा मल आयात गर्न सकिने मुलुकहरूको पहिचानका लागि सरकारले रातदिन खटेर काम गरिरहेको उनको भनाइ थियो।
आपूर्ति व्यवस्थापनलाई सहज बनाउन नयाँ कदम चालिएको बताउँदै मन्त्री चौधरीले भनिन्, “आगामी साउन १ गतेदेखि नयाँ ‘लट’को मल आयात सुरु हुँदैछ, जसका लागि मल बन्दरगाहमा समेत पुगिसकेको छ।”
आगामी दिनमा ‘क्यालेन्डर’ (वार्षिक कार्यतालिका) बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने योजनासमेत उनले सुनाइन्।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच आवश्यक समन्वय गरी वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइने छ।
खेती प्रणालीको विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेकाले माग र आपूर्तिबिच सन्तुलन कायम राख्न अझै पनि चुनौती रहेको मन्त्री चौधरीले उल्लेख गरिन्।
यद्यपि, सरकार मागअनुसारको आपूर्ति गर्न प्रतिबद्ध रहेको र किसानका समस्या एवं गुनासाहरूलाई तत्काल सम्बोधन गर्दै सहज सेवा प्रदान गर्न ‘टोल–फ्री नम्बर’ समेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन्।
चालु आर्थिक वर्षमा मात्रै सरकारले देशभर पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल पठाइसकेको मन्त्री चौधरीले स्पष्ट पारिन्।