लमजुङ। संघीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण भएको छ।
बेँसीसहरका बाबुलाल श्रेष्ठले पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताए। “गत वर्ष बर्खामा पटकपटक समस्या झेल्नु परेको थियो। कतिबेला माथिबाट ढुङ्गा खस्छ भन्ने डर हुन्थ्यो। अहिले भने निर्धक्क भएर यात्रा गर्न सकिन्छ। सडक राम्रो भएको छ, पहिरोको त्रास पनि छैन,” उनले भने।
उक्त सडकमा नियमित रुपमा सवारी सञ्चालन गर्दै आउनुभएका नारायण घिमिरे पनि उदिपुर क्षेत्रमा निर्भयका साथ गाडी चलाउन पाएकामा खुसी छन्। उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा हरेकदिनजसो सवारीसाधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाने गर्दथे।
डुम्रे–बेँसीसहर सडक लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो। यही सडकले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोडेको छ।