काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक सुधारका लागि सतही निर्णयभन्दा दीर्घकालीन योजना र प्रणालीगत सुधार आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नबन्ने उल्लेख गरेका छन्। उनका अनुसार स्वास्थ्य क्षेत्रको रूपान्तरण नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यावहारिक उपाय र दीर्घकालीन नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र सम्भव हुन्छ।
पौडेलले आफ्नो कार्यकालमा सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउने, देशभर औषधिको समान मूल्य कायम गर्ने तथा आपूर्ति प्रणालीलाई सहज बनाउने उद्देश्यका साथ विभिन्न सुधारका काम अघि बढाइएको बताएका छन्।
उनका अनुसार Central Bidding–Local Purchasing प्रणाली सञ्चालनको तयारी, विज्ञमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण, औषधिको मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्था तथा औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक सामग्री र औषधीय गुण भएका अतिरिक्त खाद्य पोषणको नियमन तथा व्यवस्थापनका लागि नयाँ विधेयक र औषधिको स्वच्छ मूल्य कायम गर्ने निर्देशिका तयार गरिएको थियो।
पौडेलले तत्कालीन समयमा बजेट निर्माण प्रक्रिया पूरा भइसकेकाले ती नीतिगत व्यवस्थाहरू सोही आर्थिक वर्षमै कार्यान्वयन गर्न केही जटिलता भए पनि त्यसपछिको बजेटमा आवश्यक व्यवस्थापन गरिएको दाबी गरेका छन्। तर, त्यसपछि विकसित नयाँ राजनीतिक परिस्थितिका कारण ती महत्त्वपूर्ण नीतिगत सुधारका कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।
उनले सरकारलाई खुद्रा निर्णयमा मात्र केन्द्रित नहुन आग्रह गर्दै स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधार, नागरिकप्रति राज्यको जवाफदेहिता अभिवृद्धि तथा तयार गरिएका कानुनी र नीतिगत दस्तावेज तथा अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन्।