काठमाडौँ। अनलाइन ठगी गरेको आरोपमा प्रहरीले चार बंगलादेशी नागरिक र एक नेपालीलाई पक्राउ गरेको छ। साइबर ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने क्रममा पाँच जनालाई दुई दिनअघि पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ पर्ने बंगलादेशी नागरिकमा २५ वर्षीय मोहम्मद जुबाएर अहमद, २६ वर्षीय नुर आलम, २४ नासिम मियाँ र २७ वर्षीय रानी कमाल रहेका छन्। यस्तै, प्रहरीले महोत्तरी रामगोपालपुर नगरपालिका-९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्दै आएका २१ वर्षीय सुभाषकुमार मण्डल रहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा वैदेशिक रोजगारीको लागि आकर्षक विज्ञापन प्रकाशित गरी ठगी गरेको आरवप उनीहरूलाई छ। ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने’ प्रलोभनपूर्ण विज्ञापन राख्दै मोबाइल एप डाउनलोड गर्न लगाउँथे।
एप डाउनलोडपछि बैंक खाता तथा वालेटमा पहुँच पुर्याएर उनीहरूले अन्य खातामा रकमान्तर गरेको गिरी बताउँछन्। पक्राउ परेकालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको छ।
पक्राउ परेकाले अनलाइन ठगी, अवैधानिक बाइनान्समार्फत् क्रिप्टो र युएसडिटी कारोबारसमेत गर्ने गरेको खुलेको छ।