काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
अ+
अ-

ललितपुर। ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको छ।

महानगरको बजेटका सन्दर्भमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मेयर चिरिबाबु महर्जनले ललितपुरलाई उज्यालो सहर बनाउन नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा हाई मास र स्मार्ट स्ट्रिट लाइट जडान तीव्र पारिएको जानकारी दिए। हाल चक्रपथ खण्ड (बालकुमारीदेखि सानेपासम्मको ७.९ किलोमिटर) मा पोलहरू गाड्ने काम सकिएको छ। करिब एक महिनाभित्र यो खण्ड पूर्ण रूपमा उज्यालो हुने महानगरले जनाएको छ।

त्यस्तै नेपालमै पहिलोपटक कुपन्डोलदेखि जावलाखेलसम्म जडान गरिएको ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ प्रणाली सफल भएपछि यसलाई अन्य क्षेत्रमा विस्तार गर्न बोलपत्र (टेन्डर) प्रकाशित भइसकेको महर्जनले बताए। उनले पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा ‘अटोमेटेड पेडेस्ट्रियन ब्यारियर’ को पाइलोटिङ सुरु गरिएको समेत जानकारी दिए।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन।

महर्जनले चालु आर्थिक वर्ष ०८३/८४ को असार मसान्तसम्म व्यवसाय नवीकरण गर्दा २५ प्रतिशत छुट दिइने र चालु आवको सम्पत्ति कर तिरेको प्रमाण पेस गरे सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाइने बताए।

एकल महिला, दलित, अपांगता भएका व्यक्ति, महिला समूह वा उनीहरूद्वारा सञ्चालित व्यवसायको हकमा व्यवसाय दर्ता गर्दा ५० प्रतिशतसम्म छुट हुने उनले बताए।

उनले ललितपुर महानगरभित्रका सम्पत्ति कर तिर्ने करदाता वा निजको श्रीमान/श्रीमतीले विद्युतीय गाडी खरिद गरेको ‘ब्लु बुक’ पेस गरे उक्त वर्षको सम्पत्ति करमा एक प्रतिशत थप छुट दिइने महानगरको नीति रहेको उल्लेख गरे।