काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुनः पुरानै अवस्थामै फर्काउने निर्णय गरेको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरद्वारा जारी विज्ञप्तिअनुसार केही समयअघि अस्थायी रूपमा लागु गरिएको ७.१ केजी ग्यास भर्ने व्यवस्था अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हो।
इन्डियन आयलका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने लोडिङमा सुधार आएसँगै बजारमा १४.२ केजी ग्यासको माग उच्च देखिएकाले भोलि (असार ३१ गते) देखि देशभर सोही परिमाणको ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ। १४.२ केजी ग्यास सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।
यसैबीच पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म बजारमा केही समय ७.१ र १४.२ केजी दुवै प्रकारका सिलिन्डर पाइने भएकाले उपभोक्तालाई तौल र मूल्य यकिन गरी मात्र खरिद गर्न आग्रह गरिएको छ।
निगमले हाल इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा ग्यास आयात भइरहेको जनाएको छ। साथै अनावश्यक सञ्चिति नगरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरिएको छ।
