काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका छन्।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको तीनदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।
उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बिदाई गरेका थिए।
सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए। भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन्।
उनी यही असार ३२ गते स्वदेश फर्कने छन्।