काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कूटनीतिक वार्तामा सहभागी नभए आगामी साता उसका विद्युत् उत्पादन केन्द्र र पुलहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।
स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजमा २० प्रतिशत महसुल लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै उक्त निर्णय फिर्ता लिएका ट्रम्पले इरानमाथि थप सैन्य दबाब बढाउने संकेत दिएका हुन्।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले इरान वार्ताको टेबलमा नआए सैन्य कारबाही तीव्र पारिने बताएका छन्। संवाददाता टेरी यिङ्सेटसँगको कुराकानीमा उनले भने, “यदि इरान वार्ताको टेबलमा आएन भने अमेरिकी सेनाले अर्को साता इरानका विद्युत् उत्पादन केन्द्र र पुलहरूमा बमबारी गर्नेछ।”
इरानविरुद्ध स्थलमार्गबाट सैन्य अभियान सञ्चालन गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले तत्काल कुनै स्पष्ट योजना सार्वजनिक गर्न चाहेनन्। उनले आवश्यक परे त्यस्तो निर्णय लिन सकिने संकेत दिँदै भने, “अहिले यसबारे केही भन्न चाहन्नँ। तर आवश्यक परे म पछि हट्दिनँ। कहिलेकाहीँ स्थल सैन्य अभियान पनि आवश्यक पर्न सक्छ, र त्यस्तो अभियान सञ्चालन गर्ने अन्य पक्ष पनि छन्।”
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले स्ट्रेट अफ होर्मुजलाई प्रभावकारी रूपमा बन्द गरेको थियो। विश्वभर आपूर्ति हुने करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास यही सामुद्रिक मार्ग हुँदै ढुवानी हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत असर पार्ने चिन्ता बढेको छ।