जनकपुरधाम। मधेस प्रदेश गृह मन्त्रालयले सञ्चार सम्बन्धि तीनवटा संस्थालाई मर्ज गर्ने तयारी गरेको छ।
सरकारले आमसंचार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र विकास बोर्डलाई एकीकृत गर्ने तयारी गरेको छ। तीनवटा संस्थालाई राख्दा कर्मचारी र सदस्यहरूको सेवा सुविधामा मात्रै लाखौं रुपैयाँ खर्च हुने गरेको र यसले उपलब्धि समेत कम हुने गरेको गृहमन्त्री फकिरा महतोले जानकारी दिए।
मन्त्री महतोले एकीकृत गर्ने गरी विधेयक समेत तयारी भइसकेको र सरोकारवालासँग छलफल गरेर प्रदेशसभाका आउने बैठकमा विधेयक प्रस्तुत गरिने समेत जानकारी दिए।
मुख्यमन्त्री कृष्णप्रसाद यादव अर्थमन्त्री युवराज भट्टराई र गृहमन्त्री बीचमा एकीकृत गर्ने गरी सहमति भएको र सोही सहमतिका आधारमा विभिन्न संस्थाहरुलाई एकीकृत गर्ने अन्तर्गत पहिलो चरणमा सञ्चार सम्बद्ध संस्थालाई एकीकृत गर्ने तयारी गरिएको छ।
तीनवटै संस्थाले एकै प्रकृतिका कार्यक्रमहरू गरेको र त्यो कार्यक्रमहरू समेत प्रभावकारिता नदेखिएको मन्त्री महतले बताए। उनले सबै संस्था मर्ज गरेर अगाडि बढ्दा उदेश्य पुरा गर्न सहज हुने र सञ्चार क्षेत्रहरू लाभान्वित हुने भएकोले सोही अनुसारको नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सरकार लागेको जानकारी दिए।