बाँके। पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारूको ८७ वर्षको उमेरमा निधन भएको छ।
विसं १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिएका नेता थारूको हृदयाघात भइ वेस्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए। उनका अनुसार नेता थारूको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ।
राप्रपा नेता तेजविक्रम शाहका अनुसार नेता थारू २०३८ साल र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०५१ सालमा उनी बाँके निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेता थारू शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्यलगायत गरी सातपटक मन्त्री भएका थिए।
उनले २०२३ सालमा बाँकेको हस्नापुर गाउँपञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गरेका थिए। उनी तीनपटक बाँके जिल्ला पञ्चायतको सभापतिसमेत भएका थिए। नेता थारूका दुई श्रीमती तथा चार छोराछोरी छन्।