काठमाडौँ। काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार “नागढुंगा टनेल फन रन एण्ड वाक” कार्यक्रम आयोजना गरिएको छ।
निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षण सञ्चालन गर्ने तयारी भइरहेका बेला सर्वसाधारणको सहभागितामा सुरुङभित्र दौड तथा पदयात्रा कार्यक्रम गरिएको हो।
सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सुरुङमार्गको अवलोकनसँगै यसको सञ्चालन तयारीबारे जानकारी गराइएको थियो।
विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले सुरुङमार्ग सञ्चालनमा ढिलाइ भएको सडक विभागले जनाएको छ। विभागका अनुसार सुरुङमार्गको औपचारिक उद्घाटन साउन ११ गते गर्ने तयारी छ। उद्घाटन कार्यक्रममा जाइकाका प्रतिनिधिहरू समेत सहभागी हुनेछन्।
सुरुआती चरणमा सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालन गरिनेछ भने पूर्ण व्यावसायिक सञ्चालनमा आउन अझै करिब दुईदेखि तीन महिना लाग्ने अनुमान गरिएको छ। परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने भए पनि नियमित व्यावसायिक सञ्चालन सुरु भएपछि सरकारले निर्धारण गरेको शुल्क लागू गरिनेछ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुंगा सडकखण्डमा हुने सवारी जाम उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। हाल बलम्बुदेखि सिस्नेखोलासम्मको करिब ७.५ किलोमिटर दूरी सुरुङमार्गमार्फत करिब ५ किलोमिटरमा सीमित हुने र यात्रा समय पनि झन्डै आधाले घट्ने विश्वास गरिएको छ।
सडक विभागका अनुसार सुरुङभित्र अक्सिजन आपूर्ति, अग्नि नियन्त्रण, सुरक्षा निगरानी, सञ्चार, विद्युत् आपूर्ति, भेन्टिलेसन तथा टोल शुल्क संकलन प्रणालीसहित आवश्यक सबै पूर्वाधार जडान र परीक्षण सम्पन्न भइसकेको छ। नेपालकै पहिलो सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनसम्बन्धी कानुनी, प्राविधिक तथा व्यवस्थापन प्रणाली तयार गर्न अतिरिक्त समय लागेको विभागको भनाइ छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी