काठमाडौँ। जेन-जीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता राज्य सञ्चालन प्रणालीमा सुधार गर्ने अधिकार अन्तरिम सरकारलाई नभएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्। आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेन-जीले उठाएका शासन व्यवस्था परिवर्तनको विषय सम्बोधन गराउन फागुन २१ मा हुने आम निर्वाचनमा भाग लिन सबैलाई अनुरोध गरेकी छन्।
‘जेन-जी पुस्ताको आन्दोलनको क्रममा उठाएको उठाएको शासकीय व्यवस्था परिवर्तनको विषय वर्तमान सरकार बाहिरको कुरा हो। त्यसका लागि फागुन २१ मा हुने निर्वाचनमा भाग लिन सबैलाई अनुरोध गर्दछु‚’ उनले भनिन्।
सो क्रममा उनले आन्दोलनको क्रममा अनाहकमा ज्यान गुमाएका जेन-जी पुस्ताको दोषीउपर सख्त कारबाही गर्ने उनले बताइन्। यस्तै उनले सरकारी काममा हुने घुस लिने कार्यलाई बन्द गर्न तथा भ्रष्टचार निवारण गर्न दृढताका साथ काम गर्ने भन्दै अनावश्यक सेवाग्राहीलाई अपनाजनक कार्य भए उजुरी सुनी सोको तत्कालीन निराकरण गर्न सबै सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको बताइन्।