काठमाडौँ। जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्। दुवै खेलाडी राष्ट्रिय च्याम्पियन हुन्।
उनीहरू १८ जुलाईदेखि १८ अगस्तसम्म सियोलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एकमहिने विशेष प्रशिक्षणमा सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाए। उनका अनुसार सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा खेलाडी प्रशिक्षणमा सहभागी हुन लागेका हुन्।
प्रशिक्षण अवधिमा खेलाडीले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीसँग नियमित अभ्यास गर्ने अवसर प्राप्त गर्नुका साथै दक्षिण कोरियाका राष्ट्रिय टेबलटेनिस टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँग भेटघाट गर्ने, उनीहरूको प्रशिक्षण सत्रको अवलोकन गर्ने तथा अनुभव आदानप्रदान गर्ने अवसरसमेत पाउने बताइएको छ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले सफल प्रशिक्षण तथा आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरे।
एसियाडका लागि टेबलटेनिसबाट यी दुई खेलाडीसहित ६ खेलाडी छनोट भएका छन्। बाँकी खेलाडीलाई पनि प्रशिक्षणमा लैजान पहल भइरहेको कोषाध्यक्ष महर्जनले जानकारी दिए।