काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन्। उनले नेपालमा लोकतन्त्र स्थापना र पुन:स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका स्मरणीय रहने बताए।
राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/६३ सालको आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका अझै ताजा रहेको उल्लेख गरेका छन्। “२०३६ सालयताको करिब साढे चार दशकमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावि पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ‚” समवेदना सन्देशमा उल्लेख छ‚ “उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने मैले विश्वास लिएको छु।”
राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताए। मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान् लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको पनि राष्ट्रपतिले उल्लेख गरेका छन्। समवेदना सन्देश पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गरिएको थियो। क्यान्सरबाट पीडित पाण्डेको १ साउनमा निधन भएको थियो।