काठमाडौँ। मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक वितरण गरिएको छ।
कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उपकुलपति भोला थापाले पदक वितरण गरे। विश्वविद्यलयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एकपटक यस्तो पदक दिने गरिन्छ।
कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गरिएको छ। कार्यक्रममा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा, सिटेनका सदस्यहरूको पनि उपस्थिति थियो।
उपकुलपति थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्ना सम्भावना उजागर गर्नुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धानकर्मीलगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आह्वान गरे।