काठमाडौँ। एसिया कप क्रिकेटको फाइनलमा भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्। ‘सुपर फो’ अन्तर्गत गए राति दुबईमा भएको खेलमा पाकिस्तानले बाङ्लादेशलाई ११ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
यसअघि नै भारत एक खेल बाँकी रहँदै फाइनलमा पुगेको थियो। भारतले आज सुपर फोको अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। गएराति पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद नवाजले २५ रनको योगदान दिए।
१३६ रनको लक्ष्य पछ्याउने क्रममा बाङ्लादेश २० ओभर पूरा गर्दा ९ विकेट गुमाउँदै १२४ रनमा रोकिएको थियो। शामिम हुसेनले ३० र शरिफ हसनले १८ रन बनाए पनि अन्य खेलाडी उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
भारतले ८ पटक ( १९८४, १९८८, १९९०/ ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) मा एसिया कप उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो।
यसअघि समूह चरण र सुपर फो दुवैमा भारतले पाकिस्तानलाई पराजित गरिसकेको छ। एसिया कपको फाइनल यूएईमा आइतबार हुँदैछ।