व्यक्ति
जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ त्यतिबेला सिकिँदो रहेछ, जब मानिसलाई प्रेमले सम्मोहित गरिदिन्छ। प्रेमले मानिसलाई त्यो शक्ति दिन्छ, जसले संसारसँग हार खाएर पनि फेरि उठ्न सिकाउँछ।
एउटा जीवन छ, जीवनको नाउँमा
एउटा आफैँ छु, हराएको अनजान सहरमा।
केही दिनदेखि मभित्र एउटा आगो दनदनी बलिरहेको छ। यो आगोको रापमा जलिरहेकी छु तर यसले मलाई खरानी बनाएको छैन। घाइते भने जरुर बनाएको छ। उप्काइरहेछ पुराना खाटाहरू।
दुःख के हो? यसको परिभाषा के हो? पोल्नु! बिझाउनु! दुख्नु! मर्नु! वा मर्न नसक्नु? यिनको जवाफ मसँग छैन।
एउटा आँखा छ संसार हेर्ने,
एउटा संसार छ आँखाले चियाउने।
हेर्छु, आँखा बिर्सिन्छु,
बाँच्छु, आफैँ बिर्सिन्छु।
एक साँझ आँखाअगाडि डच चित्रकार ‘भिन्सेन्ट भान गग’ लाई एउटा पुरानो पुस्तक पसलको सेल्फमा अडिइरहेको देखेँ। फाटेका सुक्खा ओठ, रातो झुस्स दाह्री, अनुहारभरि नाचिरहेका गहिरा धर्सा हेर्दा लाग्यो, भान गग मलाई हेरिरहेका छन्।

तस्बिर स्रोत : विकिमिडिया
उनले ‘मलाई यो धुलोबाट मुक्त गर, मलाई एउटा घर देऊ’ भनेर पुकारे जस्तो महसुस भयो। केही नसोची आफ्ना दुई हातले उनलाई च्याप्प उठाएँ र प्रेमीलाई आलिंगनमा बेरे जसरी आफैँसँग लिएर आएँ।
घर ल्याएर किताबलाई एकटक हेरेँ। भान गग खुसी भएनन्। दुःखी पनि भएनन्। मेरो हेराइले उनको अनुहारमा कुनै पनि परिवर्तन झल्किएन। पुस्तक पसलको धुलोले भरिएको सेल्फबाट निकालेर घरको सफा टेबलमा राखिदिँदा पनि उनी मुस्कुराएनन्। तटस्थ शान्त हेरिरहे। हामी दुवैले एकअर्कालाई हेर्यौँ।
मेरा प्रश्नहरू अनेक बाटो हुँदै भान गगको जीवनप्रतिको बुझाइमा गएर अड्किरहँदा गग भने आफ्नै संसारमा मस्त थिए। उनी बेफिक्र जीवनको आनन्द लिइरहेका थिए। न उनलाई धुलोको मतलब थियो, न घामको। मैले उनलाई हेरेर बुझ्न खोजेँ, तर सकिनँ। हार खाएँ।

तस्बिर स्रोत : मेट म्युजियम
एउटा पहाड छ उक्लिनु, जीवनको नाउँमा,
म निरन्तर झरिरहेछु, अनन्त बगरमा।
पाना पल्टाउँदै गएँ। आँसु खहरे खोला जस्तै बगिरह्यो। जस्तो भेल आएपछि नदी उर्लिन्छ, त्यसरी नै मन उर्लियो। जस्तो प्रेम छुटेपछि प्रेमपत्र च्यातिन्छन्, त्यसरी नै मुटु च्यात्तिइरह्यो। यदि रोज्नैपर्यो भने, दुःख प्रायः मानिसले रोज्न चाहँदैन। मानिस खुसी रोज्छ, सुख रोज्छ तर मेरो हातको त्यस किताबले अर्कै यथार्थ भनिरहेको थियो।
हाँस्छुु हाँस्न बिर्सिएर
बाँच्छु बाँच्न बिर्सिएर
सुखैसुख छ, दुःखको नाउँमा,
म दुःखी छु अनजान सहरमा।
केही दिनमा पढिभ्याएँ। आँसुका थोपाहरू भान गगका नाममा समर्पित गरेँ। दिनभरि गगले पछ्याइरहे।
अर्विङ स्टोन लस्ट फर लाइफमा लेख्छन्– होल्यान्डका यी प्रसिद्ध चित्रकारले चाहेर, सोचेर, बुझेर पनि दुःखसँग मित्रता गरे। ‘दुःख रोजे’ भन्दा अर्थ अलि फरक नपर्ला। उनले जीवनको रस दुःखकै पहाड चढेर भेट्टाए। चर्चित कला-व्यवसायी परिवारमा जन्मिए पनि कलाप्रति उनको दृष्टिकोण बिल्कुलै फरक थियो। भान गगका लागि कला सिर्जना गर्नु र कलाको कुरा गर्नु वा कलाको व्यापार गर्नु एकै कुरा थिएन। उनी भन्थे, “मानिसले या त कला सिर्जना गर्छ, या कलाको कुरा गर्छ। दुवै काम एउटै समयमा गर्न सक्दैन।”
आज हामी चित्र सम्झिँदा भान गगलाई सम्झिन्छौँ। तर, यदि त्यो आगो, त्यो भोक, त्यो पागलपन उनीभित्र नभएको भए, के उनी सम्झिनलायक चित्रकार बन्ने थिए?
मानिसभित्र सिर्जना गर्न सक्ने अथाह शक्ति हुन्छ। तर, त्यो पूर्ण रूपमा प्रस्फुटित हुन पागलपन चाहिन्छ। भोक चाहिन्छ। जीवनभन्दा माथिको कुनै तत्त्व चाहिन्छ। आगो चाहिन्छ। भान गगसँग जीवनभन्दा माथिको त्यो तत्त्व थियो, पागलपन थियो, भोक थियो, त्यो आगो थियो।
मेरो पागलपन मेरो सम्पत्ति,
मेरो पागलपन मेरो विपत्ति।
मेरो पागलपन मेरो जीवन,
मेरो मरण एउटा पागलपन।
भिन्सेन्टमा चित्र बनाउने पागलपन थियो। उनी धेरैपटक संसारसँग हारे तर आफूभित्रको कलाकारसँग कहिल्यै हारेनन्। संसार सबै वैरी हुँदा पनि उनले रङ र चित्रलाई आफ्नो साथी बनाए। के के चाहिँ भएन उनलाई? उनको अनुहार देखेर मानिसहरू तर्सिएर टाढिन्थे। कुनै स्त्रीको प्रेम उनले कहिल्यै भरपुर पाएनन्। समाजनिर्मित अवधारणाभन्दा परको जीवन बाँचिरहेका थिए।

भ्यान गगको चर्चित चित्र ‘सनफ्लावर’। तस्बिर स्रोत : विकिमिडिया
भान गगले जीवनभर जागिर खाएनन्। यसकारण परिवार पनि उनीसँग खुसी थिएन। सबैले उनलाई ‘पागल’ भने। समाजमा अरूभन्दा फरक थिए। त्यसैले उनलाई अरू मान्छेले बुझ्न सकेनन्। प्रतिकारमा उनले पनि जवाफ दिएनन्। भान गग अग्रज चित्रकार पल गौगिनलाई गुरुसरह मान्थे। एकपटक उनीहरूबीच चित्रका विषयमा मतभेद भयो। त्यही झोकमा भान गगले आफ्नो देब्रे कान काटेको घटना चर्चित छ। त्यसपछि उनलाई प्रहरी चौकी हुँदै पागलखानासम्म पुर्याइयो।
पागलखाना लैजानुअघि उनले आफ्ना चिकित्सकलाई सोधेका थिए, ‘म पागल होइन। मलाई कसैले पनि बुझेन। यदि लैजानैपर्ने हो भने लैजानुस्। तर, के म त्यहाँ पनि चित्र बनाउन सक्छु?’
भेटेर तलाउ, डुब्न चाहन्छु,
भेटिन्छ तलाउ? म जान्नँ चाहन्छु।
मृत्यु छ, त्यहीँ गहिराइमा,
फेरि जीवन कहाँ छ?
अल्झाइमा?
एउटा सत्य छ सुनाउन नसक्ने,
मलाई त्यहाँ डुब्नु छ निस्कनै नसक्ने।
भान गग चित्र बनाउँदा सबै कुरा बिर्सन्थे। न भोकको हेक्का हुन्थ्यो, न तिर्खाको। कहिले खान बिर्सिन्थे, कहिले सुत्न। तर, उनले जीवनमा केही बिर्सेनन् भने त्यो केवल चित्र बनाउनु थियो। बाहिर जान्थे, प्रकृति कोर्थे। भित्र बस्थे, जीवन कोर्थे। घरको टेबल, पानी खाने गिलासदेखि फूलदानीमा राखिएको सूर्यमुखीसम्म उनले क्यानभासमा जीवित उतार्थे।
यस्ता चित्रहरूलाई ‘स्टिल लाइफ’ अर्थात् निर्जीव वस्तुहरूको चित्रण भनिन्छ। ‘सनफ्लावर्स’ भान गगका सबैभन्दा चर्चित र विश्वप्रसिद्ध चित्रहरूमध्ये एक हो।

तस्बिर स्रोत : मेट म्युजियम
आज हामी चित्र सम्झिँदा भान गगलाई सम्झिन्छौँ। तर, यदि त्यो आगो, त्यो भोक, त्यो पागलपन उनीभित्र नभएको भए, के उनी सम्झिनलायक चित्रकार बन्ने थिए? उनी हरेक दिन मरेर पनि बाँचे, तर प्रत्येक पीडाबाट जीवनको रस निचोरे उनले। वाह, भिन्सेन्ट! तिमी पागल भएर जीवनको रस लिएर गयौ, र म त्यही रसले निचोरिएकी छु।
सोच्छु, जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ त्यतिबेला सिकिँदो रहेछ, जब मानिसलाई प्रेमले सम्मोहित गरिदिन्छ। प्रेमले मानिसलाई त्यो शक्ति दिन्छ, जसले संसारसँग हार खाएर पनि फेरि उठ्न सिकाउँछ।
भान गगको जीवनमा पनि उनका भाइ थियोले त्यो अनुपम भूमिका निर्वाह गरे। थियोले भिन्सेन्टलाई प्रेम गरे। बदलामा केही मागेनन्। वर्षौंसम्म उनले हरेक महिना आफ्नै खल्तीबाट पैसा पठाइरहे, ताकि भिन्सेन्टले चित्र बनाउने सपना जीवित राख्न सकून्। भान गगको पागलपनमा यदि कसैले सबैभन्दा धेरै साथ दियो भने, त्यो उनको भाइ थियो नै थिए।
भिन्सेन्टमा चित्र बनाउने पागलपन थियो। उनी धेरैपटक संसारसँग हारे तर आफूभित्रको कलाकारसँग कहिल्यै हारेनन्। संसार सबै वैरी हुँदा पनि उनले रङ र चित्रलाई आफ्नो साथी बनाए।
जीवनको खराब समयमा आफ्नै कान काटेपछि फ्रान्सको अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका भान गगले आँखा खोल्दा, आँखाभरि आँसु लिएर थियोलाई अगाडि उभिएको देखे। थियोले आफ्नो हात भिन्सेन्टको हातमा राखे तर केही भनेनन्। केवल म छु भन्ने हौसला दिए। त्यही मौन स्पर्शमा प्रेमको सबैभन्दा गहिरो परिभाषा लुकेको थियो। थियोलाई भिन्सेन्टका जुत्तादेखि फोहोर क्यानभाससम्मको माया थियो। थियोका लागि संसारकै सबैभन्दा प्रिय मानिस भिन्सेन्ट नै थिए। जीवन र मृत्यु कसको हातमा हुन्छ र? यी दुई बिन्दुहरूको बीचमा जीवनलाई सार्थक बनाउने प्रेम नै त रहेछ।
भाइ थियो भिन्सेन्टका मेरुदण्ड थिए। आफ्ना चित्रहरू कसैले पनि नकिन्दा भान गग अत्यन्त दुःखी हुन्थे। उनी चाहन्थे, चित्रहरू बिकून्, ताकि आफ्ना लागि भाइले गरेको दुःख र पठाएको पैसा फिर्ता गर्न सकियोस्।

सेल्फ पोट्रेट।
एकदिन भान गगको हातमा एउटा चिठी र केही पैसा आइपुग्यो, जुन थियोले पठाएका थिए। चिठीमा ‘द रेड भाइनयार्ड’ नामको चित्र कुनै कलाप्रेमीले किनेको र त्यसबापत आएको पैसा भनेर खाममा लेखिएको थियो। भान गग अत्यन्त खुसी भए। तर, त्यसमा भान गगलाई चिन्नेहरूको एकमत छैन। धेरै ठाउँमा उक्त चित्र बिकेको उल्लेख छ। तर, कतिपयको मत भने त्यो चित्र नबिकेको, त्यो केवल एउटा सान्त्वनाका लागि उनका भाइ थियोले झुट बोलेको भन्ने पनि छ। जे होस्, विडम्बना यो हो कि एक महान् चित्रकार भिन्सेन्ट बाँच्दासम्म उनले आफ्नो कलाका कारण जति सम्मान पाउनुपर्थ्यो, पाएनन्।
एउटा जिन्दगी छ जिन्दगीको नाउँमा,
मैले बाँच्नु छ आफ्नै नाउँमा।
जीवनका अनेकौँ तरंगसँगै तलमाथि भइरहँदा पनि थियोको प्रेम भिन्सेन्टप्रति कहिल्यै कम भएन। भिन्सेन्टले आफ्नै कान काटे, मानसिक अस्थिरतासँग संघर्ष गरे, जीवनभर नै उल्लेखनीय आर्थिक सफलता पाएनन्। भान गगको सम्बन्ध सिएन हुर्निकसँग थियो, जो पूर्ववेश्या र अविवाहित आमा थिइन्। उनीहरू करिब दुई वर्ष सँगै बसे, जुन त्यतिबेलाको युरोपेली समाजमा असामान्य मानिन्थ्यो।
भिन्सेन्ट निरन्तर दौडिइरहे, बगिरहे। पागलपनको हद नाघे। तर, पनि थियो छाया बनेर सधैँ प्रेम र विश्वासका साथ उनको साथमा उभिइरहे।
सन् १८९० जुलाईमा भिन्सेन्ट भान गगले आफैँलाई गोली हाने। त्यसको दुई दिनपछि ३७ वर्षको उमेरमा उनको मृत्यु भयो। त्यसको करिब ६ महिनापछि दाजुको शोकमा परेका थियोको पनि निधन भयो। भिन्सेन्टको अन्तिम यात्रामा आर्थिक र भावनात्मक रूपमा साथ दिएका थियोलाई पछि दाजुकै छेउमा गाडियो। पेरिसको ओभेर सुर-ओआजस्थित उनीहरूको समाधिस्थलमा आज पनि आगन्तुकहरूले सूर्यमुखीका फूल चढाउने गर्छन्।

तस्बिर स्रोत : स्यालुटबाइबाइडटकम।
भिन्सेन्टको मृत्युपछि चित्रकलामा एउटा नयाँ युग सुरु भयो। तर, त्यो युगको जगमा थियोको निःस्वार्थ प्रेम, त्याग र अदृश्य साथ पनि उत्तिकै अमिट रूपमा थियो।
के प्रेम यस्तै हुन्छ? निस्वार्थ? सुन्दर? निस्फिक्री? सायद हुन्छ। सायद मानिस दुःख र सुखभन्दा पनि प्रेमका लागि बाँच्छ। दुःख र सुख त हिँड्ने बाटाहरू हुन्। जीवनका अनिवार्य पाठहरू हुन्। तर, ती सबैभन्दा माथि, सबैभन्दा आवश्यक प्रेम नै हो। हुँदो हो।
कुनै दिन म पनि प्रेमीलाई सोध्नेछु, केही प्रेमका गहन प्रश्नहरू। भन्नेछु धकाएर– मलाई तिमी यसरी प्रेम गर, जसरी भान गगले रङहरूलाई गर्थे। तिमी ममा यसरी हराऊ, जसरी त्यो पागल चित्रकार आफ्ना चित्रहरूमा डुबेर संसार नै बिर्सिन्थ्यो।

तस्बिर स्रोत : भ्यानगगम्युजियम।
खुला आकाशमुनि, रातो माटोमा बसेर चित्र कोर्दा, तातो घामले आफ्नो टाउको रातो बनाइसकेको पनि थाहा नपाई सिर्जनामा विलीन भएझैँ के तिमी पनि त्यसरी नै ममा हराउन सक्छौ?
के म त्यति गहिरो प्रेमको योग्य छु? के तिमी बिहानको सिरेटोदेखि साँझको सन्नाटासम्म मेरो हुन सक्छौ?

तस्बिर स्रोत : भ्यानगगम्युजियम।
यदि तिमीभित्र मप्रति उम्रिएको त्यो प्रेमको आगो अझै दनदनी बलेको छैन भने माफ गर, म तिम्रो प्रेममा पग्लिन सक्दिनँ। पग्लाउन सक्तिनँ। किनकि, म आफैँभित्रको आगो प्रज्वलित भएपछि मात्र तिम्रो सामु आएकी हुँ। यो समर्पणको आगो कहिल्यै निभ्नेछैन।
के तिमी मसँग त्यस्तो प्रेम गर्न सक्छौ?