आव २०८२/८३ को तथ्यांक
भारतबाट आउने पर्यटक २५ प्रतिशत
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख नौ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै तीन लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन्। अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ पर्यटक नेपाल आएका छन्।
बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठुलो स्रोत बजार बनेको छ। कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत छ। भारतपछि अमेरिका (१११,३२५) दोस्रो तथा चीन (१०९,८९२) तेस्रो प्रमुख स्रोत बजारका रूपमा छन्।
त्यसपछि बांग्लादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन्।
गत आव २०८२/८३ मा सबैभन्दा बढी कात्तिकमा सबैभन्दा बढी एक लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका छन्। त्यसपछि चैतमा एक लाख १९ हजार ३९०, फागुनमा एक लाख १४ हजार १५२ र असोजमा एक लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ।
बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रबर्द्धनात्मक कार्यक्रमलाई तीव्रता दिइएको छ। आव २०८२/८३ मा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायत विभिन्न सहरमा १२ वटाभन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो। त्यसैगरी समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० वटाभन्दा बढी नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो।
त्यसैगरी आव २०८२/८३ को अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रस-बोर्डर तथा पर्यटन मार्ट र मेलाहरू गरिएको थियो। जसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताएका छन्। उनले भने, “आव २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको छ। प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा पनि लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ।”
निमित्त कार्यकारी प्रमुख ऐरले चीनमा पर्यटक आगमनको सम्भावना अत्यन्त ठूलो रहे पनि त्यस बजारमा लक्षित प्रवर्द्धन र व्यवसाय-व्यवसाय (बीटूबी) सम्पर्क विस्तार गर्न सेल्स मिसनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। “चीनसहित अमेरिका, अस्ट्रेलिया र बांग्लादेशजस्ता नयाँ तथा उच्च सम्भावना भएका स्रोत बजारमा हाम्रो उपस्थिति अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय स्तरमा नियमित सेल्स मिसन सञ्चालन गर्न आवश्यक छ। पर्यटन प्रवर्द्धनलाई परिणाममुखी बनाउन आव २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम तत्काल विस्तार गर्ने दिशामा बोर्ड अघि बढिरहेको छ,” उनले भने।
सरकारले यस वर्ष आरोग्य पर्यटन वर्ष २०२७ घोषणा गरेको उल्लेख गर्दै निमित्त कार्यकारी प्रमुख ऐरले चालु आवमा पर्यटन आगमन संख्या थप वृद्धि हुने अपेक्षा गरिएकोसमेत जानकारी गराए। बोर्डले आगामी दिनमा उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि बढाउने तथा परम्परागत बजारसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाइने जनाएको छ।