काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
काठमाडौँ नागढुङ्गा सुरुङ्ग मार्गे उद्घाटन काठमाडौँ, ११ साउनः पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सोमबार काठमाडौँ नागढुङ्गा सुरुङ्ग मार्गको उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
अ+
अ-

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबार आयोजित कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।

उद्घाटनसँगै सुरुङमार्ग प्रयोगका लागि तयार भए पनि तत्काल सबै सवारीलाई खुला गरिएको छैन। सडक विभागले केही दिन सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन, भेन्टिलेसन र आकस्मिक उद्धार क्षमताको परीक्षण गर्ने जनाएको छ। परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारीबाट शुल्क नलिइनेछ।

२ हजार ६८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५५७ मिटर लामो उद्धार सुरुङ रहेको आयोजनाले काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको जाम घटाउने र यात्राको समय करिब एक घण्टासम्म बचत गर्ने अपेक्षा गरिएको छ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकबाट सुरु हुने सुरुङ धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोलामा निस्कन्छ। सुरुङमा सिसिटिभी, भेन्टिलेसन, सञ्चार प्रणाली, दमकल र आपतकालीन उद्धार संयन्त्रसहितका सुरक्षा व्यवस्था जडान गरिएको छ।

सुरुङ सञ्चालनपछि डिजिटल टोल प्रणाली लागू हुनेछ। कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तोकिएको छ भने ठूला सवारीका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

निर्माण सुरु भएको करिब ७९ महिनापछि सम्पन्न भएको यो आयोजना जापानी सहुलियत ऋण र नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाको कुल लागत करिब २७ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ। सुरुङ पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको प्रवेश मार्ग थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।