पोखरा। कास्कीको पोखरा महानगरपालिका १८‚ सेदीमा आज (सोमबार) बिहान हिँडिरहेका बेला अचानक बेहोस भई लडेका ४८ वर्षीय अमेरिकी म्याथ्यु एलेक्स जोन्सको मृत्यु भएको छ।
स्थानीयको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी उनलाई मेट्रोसिटी अस्पतालमा पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
उनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। मृत्युको कारण शव परीक्षणपछि खुल्ने उनको भनाइ छ। जोन्स एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको पनि प्रहरीले जानकारी दिएको छ। -रासस