काठमाडौँ। प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। रूपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ज्ञवालीको उपचारका क्रममा गएराति काठमाडौँमा निधन भएको छोरा सागर ज्ञवालीले जानकारी दिए।
रुपन्देही शंकरनगरका स्थायी बासिन्दा ८० वर्षीय पत्रकार ज्ञवाली पछिल्लो समय मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि बीएन्डबी अस्पतालमा भर्ना भएका थिए। लामो समयसम्म शिक्षण पेसामा पनि आबद्ध ज्ञवालीले २०२४ सालदेखि पत्रकारिता यात्रा आरम्भ गरेका थिए।
सरल भाषामा राष्ट्रियता र देशभक्तिको पक्षमा कलम चलाउने ज्ञवालीका लेख-रचना तथा विचार पाठकको रोजाइमा पर्दै आएका थिए। उनले लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र पत्रकारिताको प्रशिक्षक भएर पनि काम गरे।
नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, पत्रकार महासंघको रुपन्देहीबाट उत्कृष्ट पत्रकारिता पुरस्कार र नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मानबाट उनी सम्मानित थिए। गोपालगोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मानबाट पत्रकार ज्ञवाली विभूषित थिए। उनका श्रीमती, एक छोरी र दुई छोरा छन्।