काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकास प्रवर्द्धनका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेपालका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्रीय मञ्च रहेको उल्लेख गर्दै यसप्रति नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गरेका छन्
बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले मंगलबार परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न बिमस्टेक अन्तर्गतका सबै सहकार्यका क्षेत्रमा अझ गहन, प्रभावकारी र परिणाममुखी सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले बिमस्टेकलाई अझ प्रभावकारी, परिणाममुखी तथा जनमुखी क्षेत्रीय संगठनका रूपमा विकास गर्दै सदस्य राष्ट्रका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने ठोस उपलब्धि सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए ।
परराष्ट्रमन्त्री खनालले बिमस्टेक चार्टरको कार्यान्वयनसहित संगठनको संस्थागत सुदृढीकरणका लागि भइरहेका प्रयासहरूको स्वागत गरे । उनले जनस्तरबीच सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन, संस्कृति तथा जनस्तरबीचको आदान–प्रदानमार्फत क्षेत्रीय सम्बन्धलाई अझ सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको पुनः दोहोर्याए ।
साथै, बिमस्टेकका साझा उद्देश्यहरूको प्रवर्द्धन तथा बंगालको खाडी क्षेत्रलाई अझ सुदृढ, समृद्ध र परस्पर आबद्ध क्षेत्रका रूपमा विकास गर्न नेपालले पूर्ण सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।