काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

विराटनगर। सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा उत्पन्न तनावको प्रभाव कोसी प्रदेशको राजधानी विराटनगरसम्म परेको छ।

त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र तथा अधिकांश विद्यालय बन्द भएका छन्। निजी विद्यालय सञ्चालकहरूले भने सोमबार नै मंगलबार बिदा दिने निर्णय गरेको बताएका छन्।

कप्तानगञ्ज क्षेत्रको अवस्था बिस्तारै सामान्य बन्दै गए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगञ्ज क्षेत्रको अवस्था साम्य हुँदै गएको भए पनि राजमार्ग क्षेत्रमा प्रदर्शन जारी रहेको छ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लामो समयदेखि सडक अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।

प्रहरीले सर्वसाधारणलाई सतर्क रहन तथा अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।

आइतबार राति र सोमबार दिउँसो भएका घटनाप्रति दुःख व्यक्त गर्दै सुनसरीका तीन स्थानीय तहले सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।