विराटनगर। कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजि) शेखर खनालले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
मंगलबार कार्यभार सम्हाल्दै उनले व्यक्तिगत आवश्यकताभन्दा प्रहरी सङ्गठनको आवश्यकता र हितलाई सर्वोपरी ठानेर काम गर्न निर्देशन दिए। उनले उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।
खनाललाई गृह मन्त्रालयले सोमबार कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा खटाउने निर्णय गरेको थियो। सुनसरी जिल्लामा दुई समूहबीच भएको हिंसापछि अशान्त परिस्थितिमा तत्कालीन प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेको सरुवा गरी मन्त्रालयले खनाललाई खटाएको थियो।
खनालले मंगलबार कार्यभार सम्हालेपछि नेपाल प्रहरीले विगतदेखि नै विषमपूर्ण परिस्थितिमा समेत निरन्तर, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्दै आएको बताए। उनले आगामी दिनमा पनि आइपर्ने चुनौतीहरूको संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम् क्षतिको सिद्धान्तलाई आत्मसात् गर्दै सफलतापूर्वक सामना गरी लक्ष्य हासिल गर्न निर्देशन दिए।
खनालले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्यहरू समयमै सम्पादन गर्न तथा सबै शाखाहरूले योजनाबद्ध, नतिजामुखी, चुस्त, दुरुस्त तथा प्रभावकारी ढङ्गबाट कार्य गर्नुपर्नेमा विशेष जोड दिदैँ सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी, गुणस्तरीय तथा नागरिकको विश्वास अभिवृद्धि हुने गरी दैनिक कार्य गर्न निर्देशन दिए। उनले प्रहरीको दर्जा मात्र ठूलो नभएको भन्दै नजानेको कुरा सिक्न जोबाट पनि सकिने बताए।
सुनसरीमा अहिले पनि कर्फ्यू जारी छ। त्यहाँ प्रहरीले अत्यधिक बल प्रयोग गर्दा क्षति बढी भएको आरोप छ। हिंसा फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङ प्रशासनले विराटनगरमा समेत कर्फ्यू आदेश जारी गरेको छ।