काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

क्रिकेट

अन्तिम समयमा अप्रत्याशित नतिजा होइन, वेस्ट इन्डिजसँग शनिबार खेलेजस्तै प्रदर्शन अबको चुनौती

१२ आश्विन २०८२
तस्बिर स्रोत : नेपाल क्रिकेट संघ
अ+
अ-

ठूलो परीक्षा थियो, तर त्यत्तिकै ठूलो अवसर पनि। वेस्ट इन्डिजजस्तो दुईपटकको विश्व च्याम्पियन टोलीसँग नेपाल पहिलोपल्ट टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न मैदानमा उत्रिएको दिन।

सारजाह अन्तर्राष्ट्रिय रंगशालाको ‘फ्लडलाइट’ मुनि दुवै टोली पिचमा उत्रिँदा नेपाली खेलाडीको अनुहारमा मिश्रित भाव झल्किन्थ्यो– धेरै उत्साह, केही डर अनि इतिहास रच्ने आत्मविश्वास। तर, तथ्य के पनि थियो भने नेपालले तीन दशक लामो आफ्नो अन्तर्राष्ट्रिय यात्रामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यताप्राप्त १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसक्दा एउटै टेस्ट राष्ट्रलाई पराजित गर्न सकेको थिएन।

तर, शनिबार बेग्लै तथ्य लेखियो। नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै आफ्नो क्रिकेट इतिहासमा पहिलोपल्ट टेस्ट राष्ट्रलाई पराजित गर्ने उपलब्धि हासिल गर्‍यो।

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल भुर्तेल यो जितले आफ्नो एउटा सपना पूरा भएको बताउँछन्। “नेपालबाट आउँदा टेस्ट राष्ट्रलाई हराउने सपना थियो। त्यो पूरा भयो। अब विश्वकपमा छनोट हुने र लिग–२ मा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य छ,” खेलपछि उनले भने।

नेपालले आईसीसी टी–२० विश्वकपमा डेब्यु गर्दै सन् २०१४ मा अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो। तर, त्यतिबेला अफगानिस्तान नेपालजस्तै एसोसिएट सदस्य थियो। वेस्ट इन्डिजसँग पहिलो टी–२० खेल मात्र होइन, यो नेपालको टेस्ट मान्यताप्राप्त टोलीसँग पहिलो द्विपक्षीय सिरिजको सुरुआत पनि थियो। नेपालले यो अवसर अझ विशेष बनायो। दुईपटकको विश्वविजेता टोलीलाई खेलको हरेक पक्षमा पराजित गर्‍यो।

नेपालको सफलताको रहस्य टोलीको पूर्ण प्रयास नै हो। टोलीका ६ ब्याटरले कम्तीमा एक एक छक्का हिर्काए। त्यति नै संख्यामा बलिङ गरेका बलरले पनि कम्तीमा एक एक विकेट लिए। फिल्डिङ सबैभन्दा उत्कृष्ट रह्यो। यही कारण नेपालले सिरिजको पहिलो खेलमै ‘जायन्ट किलर’ को छवि बनायो।

नेपाललाई यसअघि विश्व क्रिकेटमा धेरैले ‘कार्डियाक किड्स’ भनेर चिन्थे। यो उपनाम १९६० को दशकतिर वासिङ्टन स्टेट कुगर्सको ‘अन्डरडग’ टोलीले असम्भव जित निकाल्दा जन्मिएको थियो। यसको अर्थ हुन्छ— अत्यन्तै रोमाञ्चक, अन्तिम क्षणसम्म अनिश्चित र मुटु धड्काउने खेल खेल्ने टोली वा खेलाडी। पछि यो शब्द बास्केटबल, बेसबल, भलिबललगायत धेरै खेलसँग जोडिँदै क्रिकेटमा प्रवेश गरेको हो।

यो उपनाम नेपालले पहिलोपटक ३ अगस्ट २०१८ मा एम्स्टेलभिनमा भएको विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत घरेलु नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा पाएको हो। उक्त खेलमा नेपाली टोलीका तत्कालीन कप्तान पारस खड्काले अन्तिम बलमा फ्रेड क्लासेनको विकेट लिँदै एक रनको रोमाञ्चक जित निकालेका थिए।

नेपाल वेस्ट इन्डिजसँग सारजाहमा भिड्दा यो ऐतिहासिक अध्याय बनेको हो। हार र जितभन्दा पनि ठूलो कुरा नेपाल विश्व क्रिकेटमा नयाँ स्तरमा प्रवेश गर्दै छ भन्ने सन्देश दिनु थियो। यस्तोमा जित निस्किनु सुखद रह्यो।

सन् २०२३ मा जिम्बावेको हरारेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आयरल्यान्डसँग त्यस्तै रोमाञ्चक खेल खेल्यो। तर, अन्तिम चार बल बाँकी रहँदा दुई विकेटले पराजय बेहोर्नुपर्‍यो।

त्यस्तै, गत वर्षको टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँगको खेलमा पनि नेपालले ऐतिहासिक एक रनको हार भोग्यो। गत जुनमा स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न त्रिदेशीय सिरिजमा पनि नेपालले त्यस्तै खेल प्रस्तुत गर्‍यो। त्यस क्रममा नेपालले घरेलु टोलीविरुद्धको एक खेल अन्तिम बलमा जित्यो।

अर्को खेलमा पनि नेदरल्यान्ड्सविरुद्ध दुई बल बाँकी छँदै ६ विकेटको जित निकाल्यो। हुन त नेपालले सिरिजको पहिलो खेलमा यस्तै रोमाञ्चक जित निकाल्ने छाँट देखाइसकेको थियो। नेदरल्यान्ड्ससँगको पहिलो खेलमा तीन सुपर ओभर भए। अन्ततः नेदरल्यान्ड्सले नतिजा आफ्नो पक्षमा पार्‍यो।

यी सबै खेलका क्रममा दर्शकहरू मनमनै सोच्थे– अब नेपालले जित्छ। तर, अन्तिम ओभरमा नतिजा बारम्बार फेरिन्थ्यो र विजयको सपना अधुरै रहन्थ्यो। रोमाञ्चक र अन्तिम क्षणसम्म अनिश्चित खेल प्रदर्शन गर्ने हुँदा नेपाल क्रिकेट टोली विश्व क्रिकेटमा ‘कार्डियाक किड्स’ भनेर चिनिन थालेको हो। तर, गत चैतमा नेपाली टोलीमा नियुक्त अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल यो उपनाम हटाउन चाहन्थे। बरु सहजै जित निकाल्ने क्षमता विकास गर्ने उनको लक्ष्य थियो।

वेस्ट इन्डिजसँग खेल्न जानुअघि उनले यस्तै सुनाएका थिए। उनी भन्थे, “मैले त्यो भ्रमणपछि केटाहरू अब यो उपनाम हटाउनुपर्छ भनेँ। उनीहरू हाँस्न थाले। मैले यो मजाक होइन भनेँ। म हृदयाघातको जोखिममा नराखी सजिलै जित्न चाहन्छु।”

नेपाली टोलीमा क्षमता नभएको होइन। सन् २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यु–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको थियो। त्यो खेलमा अलराउन्ड प्रदर्शन गर्दै ‘प्लेअर अफ द म्याच’ घोषित दीपेन्द्रसिंह ऐरी अहिले सिनियर टोलीका उपकप्तान हुन्। कप्तानी जिम्मेवारी रोहितकुमार पौडेलले सम्हालिरहेका छन्। यस्तै, आसिफ शेख, सन्दीप लामिछाने र शहब आलम अझै टोलीमा छन्। यी सबै खेलाडीले नेदरल्यान्ड्स, आयरल्यान्ड र दक्षिण अफ्रिकाजस्ता शक्तिशाली राष्ट्रसँगको खेलमा बारम्बार नेपाललाई जितनजिक पुर्‍याएर रोमाञ्चक प्रदर्शन गरेका थिए।

यी खेलले सधैँ नेपाली खेलाडी र समर्थकको मुटुको धड्कन नापेका छन्। धेरैपटक अन्तिम ओभरसम्म पुगेर पनि नतिजा हात नपर्दा तनाव अनुभव गराएका छन्। तर, लगातारको संघर्ष र हार नजिकबाट भोगेका क्षणहरूले निराश मात्र होइन, बरु अझै आशावादी र उत्साहित हुने ठाउँ छाड्दै आएका छन्। यस्तो यात्रामा एक दिन अवश्य नै नेपालले इतिहास उल्टाउनेछ भन्ने आशा नेपाली टोलीलाई समेत थियो।

“हामीले आज जसरी खेल्यौँ, जितका लागि योग्य थियौँ,” जितपछि कप्तान रोहितले भने।

वेस्ट इन्डिजविरुद्धको यो सिरिज बल र ब्याटको भिडन्त मात्र होइन, मानसिक परीक्षा पनि थियो। अकिल हुसैनको नेतृत्वमा रहेको वेस्ट इन्डिजले आफ्नो ‘बी’ टोली मैदानमा उतारेको थियो। यी टोलीमा चार नयाँ खेलाडी थिए।

टस जितेर अकिलले बलिङ रोजे। नेपालले राम्रो सुरुआत गर्न सकेन र ३.१ ओभरमै दुवै ओपनर गुमायो। कुशल भुर्तेल हुसैनको आर्मबलमा स्टम्प भए। आसिफ शेखले जेसन होल्डरको बलमा सट मिस गर्दै मिडअनमा क्याच थमाए।

पावरप्लेको अन्तिम ओभरसम्म नेपालले दुई चौका हिर्काएको थियो। तर, कप्तान रोहितले छैटौँ ओभरमा डेब्यु खेलाडी रामोन सिमन्डस्‌विरुद्ध लगातार दुई चौका हिर्काएर खेलमा फर्काउने प्रयास गरे।

‘मोमेन्टम’ भने कुशल मल्लले सिर्जना गरे। लामो समय लयमा नरहेका उनलाई मुख्य प्रशिक्षक लले गत वैशाखमा भएको स्कटल्यान्ड भ्रमणमा बाहिर राखेका थिए। कुशल र रोहितले ४५ बलमा ५८ रनको साझेदारी गरे। तर, दुवै खेलाडी यही खेलमार्फत टी–२० मा डेब्यु गरेका लेग स्पिनर नवीन बिदाइसीबाट आउट भए।

फेरि पनि उही प्रश्न यथावत् नै छ। के नेपाल अझै ‘कार्डियाक किड्स’ मै सीमित हुन्छ वा अब सोमबार र मंगलबार हुने सिरिजका दुई खेलमा पनि यस्तै प्रदर्शन गरेर जायन्ट किलरको छवि बनाइरहन्छ?

गुलसन झा र दीपेन्द्रसिंह ऐरीले गति कायम राख्ने प्रयास गरे। तर, २९ रनको साझेदारी गरेपछि बिदाइसीले गुलसनलाई पनि आउट गरे। उनले ४ ओभरमा तीन विकेट लिँदै २० रन दिए। १९औँ ओभरमा जेसन होल्डरले तीन विकेट लिए। तर, वेस्ट इन्डिजको फिल्डिङले नेपाललाई निकै फाइदा पुर्‍यायो। नेपालका आठै जनालाई क्याचमार्फत आउट गरे पनि केही ‘ड्रप क्याच’ का कारण नेपाल १४८ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गर्न सफल भयो।

काइल मेयर्सलाई दोस्रो ओभरमा भुर्तेलको ‘डाइरेक्ट हिट’ ले रन आउट गरायो। नवप्रवेशी अकिम अगस्टले दुई छक्का हिर्काए, तर पावरप्लेको अन्त्यसम्म आउट भए। १३औँ ओभरपछि ऐरीको सानदार फिल्डिङले केस्सी क्यार्थीलाई आउट गरायो।

त्यसपछि वेस्ट इन्डिज जेसन होल्डरमा भर परेको थियो। तर, उनी पाँच रनमै आउट भए। बिदाइसी, फाबियन एलन र हुसैनले ठूलो सट खेल्ने प्रयास गरे। तर, नेपाली खेलाडीले असफल बनाए। वेस्ट इन्डिजलाई अन्तिम पाँच ओभरमा ७० रन र अन्तिम तीन ओभरमा ४९ रन चाहिन्थ्यो।

१८औँ ओभरमा नेपालका फिल्डरले लगातार दुई बलमा हुसैनको दुई क्याच ड्रप गरे। पहिलो बल चौका भयो भने दोस्रो बाउन्ड्री पार गर्दै छक्का भयो। तर, त्यसपछि करण केसीले वेस्ट इन्डिजका कप्तानलाई आउट गर्दै अन्तिम ओभरमा एलनलाई २८ रनमै रोकिदिए।

भुर्तेलले भनेजस्तै यसपल्ट पनि बलिङ र गतिलो फिल्डिङकै कारण नेपाल वेस्ट इन्डिजलाई १२९ रनमा रोक्दै ऐतिहासिक जित दर्ता गर्न सफल भएको हो। यसमा सबैभन्दा ठूलो योगदान पार्टटाइम स्पिनर भुर्तेल र रोहितको छ। लेग स्पिनर सन्दीप लामिछानेविना उत्रिएको टोलीलाई बलिङमा उकास्ने जिम्मा भुर्तेलले पाए। लेग स्पिनर भुर्तेलले २५ बलमा २२ रन बनाएका नवीन र होल्डरको विकेट लिए। ओपनर मेयर्सलाई रन आउट र एलनलाई क्याच गराएर पभेलियन फर्काइदिए। रोहितले पनि एक विकेट र एक क्याच लिए।

“अभ्यासमै १४०–१४५ रन बनाउने लक्ष्य राखेका थियौँ। त्यहीअनुसार भयो। तर, स्पिनरको सही प्रयोगले जित सम्भव भएको हो। १५–१७ ओभरमा फिल्डिङ उत्कृष्ट थियो। यो ऐतिहासिक जित हो,” नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट ल भन्छन्।

क्रिकेटमा ‘जायन्ट किलर’ भन्नाले शक्तिशाली टोलीलाई पराजित गर्ने क्षमता बुझिन्छ। नेपालले यसअघि वरीयतामा आफूभन्दा माथि रहेका ओमन, यूएई, हङकङजस्ता एसोसिएट राष्ट्रविरुद्ध पटक पटक त्यसको झल्को देखाइसकेको छ। ती खेलमा बनेको माहोल, दर्शकले दिएको समर्थन र खेलाडीको आत्मबलले नेपाललाई प्रभावशाली बनाएको थियो। तर, दुईपल्टको विश्वकपमा रोमाञ्चक प्रदर्शन र बारम्बार चकित पार्ने नतिजा दिँदै आए पनि नेपालले अहिलेसम्म टेस्ट राष्ट्रसँग सिरिज खेल्ने अवसर पाएको थिएन।

त्यसैले नेपाल वेस्ट इन्डिजसँग सारजाहमा भिड्दा यो ऐतिहासिक अध्याय बनेको हो। हार र जितभन्दा पनि ठूलो कुरा नेपाल विश्व क्रिकेटमा नयाँ स्तरमा प्रवेश गर्दै छ भन्ने सन्देश दिनु थियो। यस्तोमा जित निस्किनु सुखद रह्यो।

वेस्ट इन्डिजका प्रशिक्षक रेयोन ग्रिफिथ पछिल्लो समय नेपाली टोलीको मनोवृत्ति राम्रो देखिएको बताउँछन्। “फिल्डिङमा उत्साह देखाए। ब्याटिङमा दुई विकेट गुमाए पनि कप्तान र अन्य ब्याटरले राम्रो फाइट गरे। नेपालले आत्मविश्वास र लगनसाथ क्रिकेट खेलेको छ,” उनी भन्छन्।

तर, फेरि पनि उही प्रश्न यथावत् नै छ। के नेपाल अझै ‘कार्डियाक किड्स’ मै सीमित हुन्छ वा अब सोमबार र मंगलबार हुने सिरिजका दुई खेलमा पनि यस्तै प्रदर्शन गरेर जायन्ट किलरको छवि बनाइरहन्छ?

उत्तर परिणामले नै दिनेछ। तर, शनिबारको खेलले एउटा कुरा भने पक्का गरिसकेको छ– नेपाल अब इतिहास रच्न सक्षम छ। ‘जायन्ट किलर’ उपनाम पाउन योग्य छ।