काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
नारायणगढ–मुग्लिन सडक/फाइल फोटो
अ+
अ-

काठमाडौं। अविरल वर्षा तथा पहिरोका कारण ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभा जिल्लामा दुई ठाउँ कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो।

प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार रसुववामा बाढी र पहिरोका कारण दुई वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन्। गोसाइँकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन जोड्ने नाकाको पुल बाढीका कारण अवरुद्ध भएको छ।

यसैगरी, सोही ठाउँको पासाङल्हामू सडक पहिरोका कारण अवरुद्ध भएको छ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ चारकिलोमा पहिरोका कारण अरनिको राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ।

काभ्रेको धुलिखेल नगरपालिका-८ पकुचामा अरनिको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण मुग्लिन-नारायणगढ अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ।

“सडक विभाग, स्थानीय निकायलगायतसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ,” घिमिरेले भने।

अहिलेसम्म बीपी राजमार्गमा अवरोध नआएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले नेपालन्युजलाई बताए। उनका अनुसार भकुन्डेबेंसी, धुलिखेल, बनेपामा वर्षा जारी छ। काभ्रेभञ्ज्याङबाट काठमाडौं आउने गाडी मंगलटारमा रोकिएका छन्।

“कान्ति लोकपथमा कुनै समस्या आएको छैन,” झाले भने।।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि अविरल वर्षा हुने प्रक्ष्येपण गरेसँगै ठाउँ-ठाउँमा वर्षा भइरहेको छ। वर्षाका कारण राजमार्गमा अवरोध सिर्जना भएको छ।

सडक विभागले लामो दुरीमा यात्रा नगर्न अनुरोध गरेको छ।