सानेई ताकाइची
पुरुषसत्तात्मक मान्यताको पक्षपोषक र रूढिवादको प्रतिनिधिका रूपमा ताकाइचीको उदयमा आशासँगै आलोचना पनि
सानेई ताकाइची जापानमा नयाँ इतिहास रच्ने संघारमा छिन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वमा निर्वाचित ताकाइची जापानको प्रथम महिला प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ।
पुरातन दक्षिणपन्थी धारको वकालत गर्ने ६४ वर्षीया ताकाइची कृषिमन्त्री सिन्जिरो कोइजुमीलाई झिनो अन्तरले पराजित गर्दै पार्टी नेतृत्वमा विजयी भएकी हुन्। कृषिमन्त्री सिन्जिरो पूर्वप्रधानमन्त्री जुनीचिरो कोइजुमीका छोरा हुन्।
को हुन् ताकाइची?
विद्यार्थीकालमा हेभी मेटल ब्यान्डमा ड्रम बजाउने र मोटरसाइकल चढ्ने ताकाइचीको राजनीतितर्फको यात्रा रोचक छ। सन् १९९३ मा आफ्नो जन्मथलो नाराबाट उनी पहिलोपटक जापानी संसद्मा निर्वाचित भएकी थिइन्। त्यसयता उनले पार्टी र सरकारका महत्त्वपूर्ण पद सम्हाल्दै आएकी छन्। उनले आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैंगिक समानताजस्ता मन्त्री पदहरू सम्हालिसकेकी छन्।
एलडीपीले युवा पुस्तामाझ समर्थन गुमाउँदै गएको अप्ठ्यारो परिस्थितिमा उनले नेतृत्व सम्हाल्दै छिन्। उच्च मुद्रास्फीति, गोप्य कोष काण्डले छवि बिगारेको र आप्रवासीविरोधी सान्सेइतो पार्टीजस्ता कडा दक्षिणपन्थी चुनौतीकर्ताहरूको उदयले ताकाइचीको पार्टी दबाबमा छ।
पछिल्लो समय त एलडीपी र यसको गठबन्धन साझेदारले दुवै सदनमा बहुमतसमेत गुमाएका छन्। ‘हालै, मैले देशभरिबाट कडा आवाज सुनेँ– जसले भनिरहेका छन्, हामीलाई अब एलडीपी केको पक्षमा छ भनेर थाहा नै छैन,’ ताकाइचीले दोस्रो चरणको मतदानअघिको भाषणमा भनेकी थिइन्, ‘यही चिन्ताले मलाई अघि बढायो। म जनताले आफ्नो दैनिक जीवन र भविष्यप्रति गरेका चिन्तालाई आशामा बदल्न चाहन्थेँ।’
तर, लैंगिक समानतासम्बन्धी उनको पछिल्लो धारणा संवेदनशील छ। उनी विवाहपछि श्रीमान्–श्रीमतीले एउटै थर राख्नुपर्ने कानुनको पक्षपोषण गर्छिन्। राजगद्दी केवल पुरुषले मात्र सम्हाल्नुपर्छ भन्ने पक्षमा छिन्, र समलिंगी विवाहको समर्थन पनि गर्दिनन्। यी सबै विचारले उनलाई परम्परावादी पार्टीभित्रको रूढिवादी धारको प्रतिनिधिका रूपमा हेरिन्छ।
‘उनी प्रधानमन्त्री बन्नु महिलाको राजनीतिक सहभागिताका लागि एक महत्त्वपूर्ण कदम हुनेछ,’ टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कवातोले एएफपीसँग भनेका थिए, ‘तर उनले पुरुषसत्तात्मक मान्यताहरूविरुद्ध लड्ने चाहना खासै देखाएकी छैनन्।’
एलडीपीभित्र विविधता वा लैंगिक समानताको पक्षमा बोल्ने महिलाहरूलाई प्रायः किनारामा पारिएको देखिन्छ। ताकाइची स्वयंले पनि पार्टीका शक्तिशाली पुरुष नेताहरूका परम्परागत विचारलाई समर्थन गर्दै आएकी छन्, जसले पार्टीभित्र उनको उकालो यात्रालाई सघाएको छ।
जापानी संसद्को सबैभन्दा शक्तिशाली सदन प्रतिनिधिसभामा अहिले करिब १५ प्रतिशत सिट मात्र महिलाहरूले ओगटेका छन्। यस्तै ४७ वटा प्रान्तीय गभर्नरमध्ये केवल दुई मात्र महिला छन्।
लैंगिक समानताको मामिलामा जापानको अन्तर्राष्ट्रिय स्थिति पनि निकै पछाडि छ। विश्व आर्थिक मञ्चको सन् २०२५ को जेन्डर ग्याप रिपोर्टअनुसार जापान एक सय ४८ देशमध्ये एक सय १८औं स्थानमा पर्छ। यसविपरीत, ताकाइचीले आदर्श मानेका आइसल्यान्ड, फिनल्यान्ड र नर्वेजस्ता देशहरू शीर्ष स्थानमा रहँदै आएका छन्।
तैपनि उनले केही ससाना सकारात्मक संकेत भने देखाएकी छिन्। हालै ताकाइचीले आफूले भोगेका महिनावारीका लक्षणहरूबारे खुलेर बोलेकी थिइन्। विद्यालय तथा कार्यस्थलमा पुरुषहरूलाई महिलाको स्वास्थ्यबारे शिक्षा दिनु आवश्यक छ भन्ने कुरामा समेत उनले जोड दिएकी थिइन्।
अन्तर्राष्ट्रिय नजर
ताकाइचीको विदेश नीति मुख्यतः सुरक्षामा केन्द्रित छ। उनी चीनप्रति रुखो धारणा राख्ने नेताको रूपमा परिचित छिन्। उनी युद्धपछिको ‘शान्तिवादी’ जापानी संविधान संशोधन गर्नुपर्ने पक्षमा वकालतसमेत गर्दै आएकी छन्।
सन् २०२५ को पूर्वार्द्धमै उनले ताइवानसँग अर्धसुरक्षा गठबन्धनको विचारसमेत प्रस्तुत गरेकी थिइन्। उनको यो कदमले बेइजिङलाई रुष्ट बनाउने पक्का छ।
ताइवानी राष्ट्रपति लाई छिङतेले ताकाइचीको जितको स्वागत गर्दै ‘ताइवानकी दृढ मित्र’ समेत भनेका थिए।
ताकाइचीले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको लगानी सम्झौताबारे पुनः वार्ता गर्न सक्ने संकेत पनि गरेकी छन्। त्यसले ट्रम्पले जापानमाथि लगाएको उच्च सीमा शुल्क केही हदसम्म घटाएको थियो, जसको बदलामा जापान सरकारले करदाताको पैसा प्रयोग गरेर अमेरिकी क्षेत्रमा लगानी गर्न सहमति दिएको थियो।
जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले तुरुन्तै ताकाइचीलाई बधाई दिँदै (एक्स) मा लेखेका थिए — हामी जापान-अमेरिका साझेदारीलाई सबै क्षेत्रहरूमा अझ सशक्त बनाउन उत्साहित छौँ।
यदि उनी प्रधानमन्त्री बनिन् भने, ताकाइचीले आफूअघिका प्रधानमन्त्रीभन्दा अन्तर्राष्ट्रियरूपमा बढी सक्रियता देखाउने छिन्। यसका लागि उनले अथक रूपमा काम गर्ने बताएकी छिन्।
ताकाइचीले आफू विजयी हुँदाको भाषणमा भनेकी थिइन्, ‘मैले मेरो व्यक्तिगत काम र जीवनबीचको सन्तुलनलाई छोडेको छु। अब म काम गर्नेछु, काम गर्नेछु र काम गर्नेछु।’
– फर्स्टपोस्टमा प्रकाशित सामग्रीबाट प्रभाकर गौतमले गरेको अनुवाद