काठमाडौँ। अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सोमबार बिहानदेखि सञ्चालनमा आएका छन्।
सडकमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र हेटौँडा–पालुङ–नौबिसे सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।
उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्।
भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिरनजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए।
बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ।
यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए। ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ।