काठमाडौँ। गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारलगायत महत्त्वपूर्ण ऐतिहासिक तथा सार्वजनिक भवनमा आगो लाग्दा काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछि नहटेको मेयर बालेन्द्र साह (बालेन) ले बताएका छन्। सिंहदरबार जल्दासमेत काठमाडौँ महानगरको दमकल नपुगेको, तीन दिनसम्म जलेको हेरेर बसेको भन्ने आलोचनाप्रति स्पष्टीकरण दिँदै मेयर साहले आफ्नो टिम रातदिन नभनी आगो निभाउन खटेको बताएका हुन्।
फेसबुकमा एक स्टेटस लेख्दै उनले भनेका छन्, ‘सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके। यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौँ मान्छेसमेत हिँडडुल गर्न सक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिनरात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क संकलन, जलेका गाडीहरूको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो।’
उनले सिंहदरबार जलेलगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधले गर्दा जान नसकेको समेत बताएका छन्। ‘नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको। जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो’, उनले लेखेका छन्।
मेयर साहका अनुसार आन्दोलन सुरु भएको दिन २३ भदौदेखि २८ भदौसम्ममा महानगरका दमकल थापाथली डेटा सेन्टर, नक्साल हिल्टन होटल, भाटभटेनी, बबरमहल जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयलगायत काठमाडौँका विभिन्न स्थानमा ५५ पटकभन्दा बढी पुगेको थियो। यस्तै २४ भदौको राति ८:१५ देखि ९:४५ सम्म र २५ गते बिहान १:४५ देखि ३ बजेसम्म तथा २६ गते दिउँसो ३:३० देखि ६:५० सम्म र सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म महानगरका दमकलले सिंहदरबारको आगो निभाएको उनले उल्लेख गरेका छन्।
साथै संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार, सर्वोच्च अदालतलगायतका स्थानमा पनि महानगरले आगो निभाएको उनले दाबी गरेका छन्।
मेयर साहको स्टेटस :