काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ आश्विन २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको आसन्न केन्द्रीय समिति बैठकमा देशभर क्रियाशील सदस्यता नवीकरण र वितरणको अवस्थाबारे ब्रिफ्रिङ हुने भएको छ। पार्टी महामन्त्री गगनकुमार थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अवस्थाबारे प्रतिवेदन तयार पारिरहेको छ। उक्त प्रतिवेदन महामन्त्री थापाले २६ असोजमा हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने छन्।

समिति सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार समितिको आज बैठक बसेको थियो। बैठकले जेन-जी विद्रोहपश्चात् जिल्ला जिल्लामा रहेका पार्टी कार्यालय मात्र होइन केन्द्रमा पनि कार्यालय तोडफोड भएको र त्यसको असर क्रियाशील सदस्यता नवीकरण र वितरणमा परेको जानकारी दिए। उनले देशभरमा क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पठाइएका फारममा पुगेको क्षति, क्रियाशील सदस्यताको विषयमा हालसम्म विभिन्न बैठकमा भएका निर्णयहरू र वर्तमान क्रियाशील अवस्था सहितको समग्र प्रतिवेदन २६ असोजको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पेस गर्ने आजको बैठकले निर्णय गरेको जानकारी दिए।

“४० भन्दा बढी जिल्लाका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन्। केन्द्रीय कार्यालयसहित धेरै ठाउँमा भएका घटनाले ठूला क्षति पुर्‍याएका छन्। कतिपय कार्यालय पूर्ण रूपमा डढेर नष्ट भएका छन्, कतिपयमा आंशिक क्षति पुगेको छ‚” उनले भने।

साथै उनले त्यो क्षतिको विवरण संकलन कार्य भएको भन्दै थपे‚ “यसका सबै अभिलेख अहिले संकलन भइरहेको छ। कुन जिल्लामा कति क्षति भयो, कहाँ नवीकरण प्रक्रिया रोकियो, क्षेत्रीय, गाउँ वा नगर कार्यालय कहाँबाट नवीकरण प्रक्रिया प्रभावित भए भन्ने विवरण संकलन गरेर महामन्त्रीमार्फत केन्द्रीय बैठकमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।”

समिति सदस्य स्नेहीले जेन-जी आन्दोलनका कारण पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रिया पनि प्रभावित भएको बताए। विशेष गरी पार्टीको सूचना प्रविधि प्रणालीमा समस्या पुगेको र जिल्लागत डेटा एन्ट्री गर्ने काम रोकिएको पनि बताए। “करिब २२ वटा जिल्लामा एन्ट्री प्रणाली प्रभावित भएको र केही ठाउँमा कम्प्युटर, ल्यापटप र उपकरणहरूसमेत नष्ट भएका छन्‚” उनले थपे‚ “तर, १४ औँ महाधिवेशनका क्रममा केन्द्रमा रहेको क्रियाशील सदस्यताको मूल डेटा सुरक्षित रहेको देखियो। ती अभिलेखहरू पार्टीको निर्वाचन समिति र सचिवालयमा सुरक्षित छन्।”